ललितपुर, जेठ ६ । ललितपुरको ग्वार्कोस्थित एक टहरोमा भएको आगलागीमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । आगलागीमा परी घाइते भएकामध्ये दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएकाले मृतकको संख्या ४ पुगेको हो ।
मोबिल भण्डार गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका सदस्यहरु घाइते भएका थिए । सो क्रममा शनिबार सञ्जयको समेत मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले दिनुभएको जानकारीअनुसार सञ्जय ग्वार्कोस्थित किस्ट अस्पतालको भेन्टिलेटरमा उपचाररत हुनुहुन्थ्यो ।
सोही अस्पतालमा सञ्जयकी श्रीमती रुपा गिरीको गत बैशाख ३१ गते मृत्यु भएको थियो । आगलागी भएको भोलिपल्टै दुई छोरी ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसाको मृत्यु भएको थियो ।
आगलागीमा परी घाइते भएका सञ्जयका भतिज १५ वर्षीय नित गिरीको उपचार जारी रहेको प्रहरीले जनाएको छ । नितको अवस्था सामान्य छ ।
प्रतिक्रिया दिनुहोस्