जनता टाइम्स

८ जेष्ठ २०८१, मंगलवार ०८:५३

बेलायत र नेपालबीच व्यापार वृद्धि हुन्छ : प्रधानमन्त्री सुनाक


लन्डन, जेठ ८ । संयुक्त अधिराज्य (बेलायत)का प्रधानमन्त्री ऋषि सुनाकले आगामी बर्सहरूमा बेलायत र नेपालबिच व्यापार वृद्धि हुनुका साथै निजी लगानी पनि बढ्ने विश्वास व्यक्त गर्नु भएको छ ।

नेपाल र बेलायतबिच सन् १९२३ मा सम्पन्न मैत्री सम्धी हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा लन्डनस्थित बेलायतको प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा नेपाली समुदायलाई सम्बोधनका क्रममा प्रधानमन्त्री सुनाकले बेलायत र नेपालबिच विगतदेखि नै सहकार्य रहँदै आएको चर्चा गर्दै व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य हुने पनि जानकारी दिनु भयो ।

उहाँले नेपालले विकास र प्रगतिका लागि गरिरहेको प्रयासमा सघाउन बेलायत सरकारले हालै ४० करोड पाउन्ड सहयोग गरेको जनाउँदै आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्रधानमन्त्री सुनाकले नेपाल र बेलायतबिचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामहरूको बारेमा चर्चा गर्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिस गोर्खाहरूको योगदानको प्रशंसा गर्नु भयो । बेलायती राजा चाल्र्सको नेपाल भ्रमणको स्मरण गर्दै उहाँले बेलायतमा रहेका विभिन्न क्षेत्रका ख्यातिप्रात नेपाली डायस्पोराको काम र उपलब्धिबाट आफू प्रेरित भएको बताउनु भयो ।

बेलायतकी परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानले बेलायतले नेपालको विकासका मुद्दामा विगत झैँ निरन्तर सहयोग जारी राख्ने बताउनु भयो । उहाँले नेपालको मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा बेलायतले सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले मैत्री सन्धिपश्चात अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुगेको उल्लेख गर्नु भयो । नेपालमा हालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिका बारेमा चर्चा गर्दै उहाँले बेलायतले नेपालको विकासमा पुर्‍याएको सहयोगका लागि धन्यवाद दिनु भयो ।

मैत्री सम्धी हस्ताक्षर भएको सय वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रमहरू मनाउने सिलसिलामा नेपाली राजदूतावास र बेलायती परराष्ट्र मन्त्रालयबीच छलफल भएअनुसार र नेपाली समुदायको सहयोगमा कार्यक्रम भएको हो । यसअघि बेलायती प्रधानमन्त्रीले नेपालीलाई व्यक्तिगत वा समूहमा भेटघाट गरे पनि नेपाली समुदायलाई मात्र केन्द्रित गरेर प्रधानमन्त्री कार्यालयमा गरिएको यो पहिलो कार्यक्रम भएकाले नेपाली समुदायले स्वागत गरेका छन् ।

कार्यक्रममा सहभागी लिड्स विश्वविद्यालयका प्राध्यापक सूर्यप्रसाद सुवेदीले पहिलो पटक नेपाली समुदायलाई नै केन्द्रित गरेर बेलायतका प्रधानमन्त्रीले गर्नु भएको कार्यक्रम स्वागतयोग्य रहेको बताउनु भयो । उहाँले सन १९२३ मा नेपाल र बेलायतबिच भएको सन्धि महत्त्वपूर्ण रहेको बताउँदै भन्नुभयो,‘त्यसअघि विभिन्न समयमा सन्धि सम्झौताहरू भएता पनि नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुकको रूपमा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा थप सुदृढीकरण गर्न यो सन्धि सहयोगी भयो ।’

उहाँले यो सन्धि लिग अफ नेशन्समा समेत दर्ता भएको र यसले अन्य मुलुकहरुसँग सम्बन्ध बिस्तार गर्न नेपाललाई सहयोग पुगेको बताउनुभयो । उहाँले प्रधानमन्त्री कार्यालयमै कार्यक्रम गरिनुले नयाँ अभ्यास बसेको बताउँदै प्रधानमन्त्री सुनाकले नेपाली समुदायको प्रशंसा गर्नु गर्वको कुरा रहेको बताउनु भयो ।

गैर आवासीय नेपाली सङ्घ पूर्वअध्यक्ष जीवा लामिछाने विश्वकै राजनीतिको केन्द्र रहेको बेलायतले मैत्री सम्धी भएको अवसरमा नेपाली समुदायलाई प्रधानमन्त्री कार्यालयमा बोलाउनुले नेपाललाई महत्त्व दिएको बुझ्न सकिने बताउनु भयो । उहाँले भन्नुभयो,यो नेपाल र नेपाली समुदायलाई गरेको सम्मान हो । कार्यक्रममा सहभागी अभिनेत्री मनीषा कोइरालाले नेपाली भएर यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउनु भयो ।

युवा व्यवसायी तथा समाजसेवी रविन्द्रजंग लामिछानेले पहिलो पटक नेपाली समुदायलाई बेलायतको प्रधानमन्त्रीले यसरी सम्बोधन गर्नु खुसी र स्वागतयोग्य रहेको बताउँदै भविष्यमा आदानप्रदानको ढोका खुल्ने विश्वास व्यक्त गर्नुभयो ।