जनता टाइम्स

१० जेष्ठ २०८१, बिहीबार १४:१३

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त


काठमाडौं, जेठ १० । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्ररमण खनाल नियुक्त हुनुभएको छ ।

राष्ट्रिय वाणिज्यकै डेपुटी सीईओको रुपमा कार्यरत रहनुभएका खनाललाई सञ्चालक समितिले सीईओमा बढुवा गरेको हो । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले खनाललाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको छ ।

सीईओ छनोट उपसमितिको आइतबार बसेको बैठकले खनालसहित नेपाल बैंकका पूर्वसीईओ कृष्णबहादुर कार्की, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसीको नाम सर्टलिस्टेड गरेको थियो ।

राष्ट्रिय बाणिज्य बैंकको सीईओ बन्नका लागि २० जनाले आवेदन दिएकोमा ५ जनाको नाम छनोट गरी व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका आधारमा खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

बैंकका तत्कालीन सीईओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर गत चैतमा बाहिरिएसँगै बैशाख ७ गते बैंकले सीईओका लागि आवेदन मागेको थियो । मागअनुसार २० जनाले आवेदन दिएकोमा ५ जनाको नाम छनोट गरी व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ता लिइ सिईओ छनोट गरिएको हो ।