जनता टाइम्स

२० जेष्ठ २०८१, आईतवार २३:४१

सहकारी ठगी प्रकरणमा राप्रपा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता


नवलपरासी, जेठ २० । कावासोतीमा कार्यालय रहेको छिपछिपे उपभोक्ता संस्थाको १६ करोड ५८ लाख रकम हिनामिना गरेको अभियोगमा राप्रपाकी संघीय सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला न्यायाधिवक्ता हरि घिमिरेका अनुसार सहकारीको रकम हिनामिना र ठगी शीर्षकमा उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । मुद्दा दर्ता नम्बर ०१८३ रहेको छ ।

सर्वसाधारणले बचत गरेको रकम हिनामिना गर्ने सञ्चालक समितिका हालका अध्यक्ष गोपी शर्मा, व्यवस्थापक योगेन्द्र पाण्डे, पूर्वसचिव नगेन्द्रबहादुर रिमाल, राप्रपाकी संघीय सांसद गीता बस्नेतसहित ३५ जनालाई विपक्षी बनाइएको छ । सांसद बस्नेतका ज्वाई (अघिल्लो कार्यसमितिका सचिव) नगेन्द्र रिमालले बिना धितो ९६ लाख रुपैयाँ बर्दियाको गुलरियामा रहेको कृष्णसार रिर्सोटमा लगेर लगानी गरेका हुन ।

त्यसको अध्यक्ष गीता बस्नेत भएका कारण उनीविरुद्ध सहकारीको रकम हिनामिना र ठगी अपराधमा मुद्दा दर्ता भएको हो । सहकारीका शेयर सदस्य र नियमित बचतकर्ताबाहेक अन्य व्यक्तिलाई ऋण दिन नपाइने सहकारी ऐनमा व्यवस्था छ । तर शेयर सदस्य नै नरहेको कृष्णसार रिर्सोटमा सोझै ९६ लाख (सावा) रकम लगेर लगानी गरिएको छ । ३५ जनाबाट सहकारीको हिनामिना भएको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ भन्दा धेरै रकम असुलउपर, त्यसको हर्जना र कैद सजायको समेत माग गरिएको छ ।

’हिनामिना र कुसर गरेको आधारमा रकम असुल्न पर्ने र हर्जनासहित कैदको माग गरिएको छ । उहाँका अनुसार सहकारी ठगी अभियोगमा १० जना प्रहरी नियन्त्रणमा रहेका छन । सांसद गीता बस्नेत सहित अन्य २५ जना फरार छन । जिल्ला अदालतले विपक्षी बनाइएर फरार रहेका सबै २५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेर अनुसन्धान सुरु गर्नेछ ।
जिल्ला अदालतका सूचना अधिकारी सरिता अर्यालका अनुसार हाल प्रहरी नियन्त्रणमा रहेका १० जनाको सोमवारबाट बयान सुरु हुनेछ । फरार रहेका २५ जनाको अदालतले घरमा सूचना पठाएर जानकारी गराउँछ ।

संस्थामा ७ वर्ष सम्म अध्यक्ष र व्यवस्थापक रहेका योगेन्द्र पाण्डेको डिजाइनमा रकम हिनामिना भएको प्रहरी अनुसन्धानले देखाएको छ । उहाँ बर्दिया निवासी हुनुहुन्छ ।पाण्डेले आफूनिकटका व्यक्तिलाई सञ्चालक समिति, ऋण समिति, र कर्मचारी नियुक्त गरेर बिनाधितो ४ करोड भन्दा बढी लगानी गरेको अनुसन्धानका क्रममा भेटिएको छ ।

हालका व्यवस्थापक योगेन्द्र पाण्डेले सहकारीमा शेयर सदस्य र बचतकर्ता समेत नरहेका १ सय ४० जनालाई बिनाधितो ऋण लगानी गरेर सहकारी डुबाउन भूमिका खेलेको प्रतिबेदनमा औल्याइएको छ ।

पाण्डेले आफू निकटका व्यक्तिलाई बिना धितो ऋण दिएको अनुसन्धान प्रतिवेदनमा औंल्याएको छ । गण्डकी प्रदेश सहकारी रजिस्टारको कार्यालयका वित्तीय विश्लेषक निर्मल गौतमले हिसाब हेर्दा देखिएको अनियमितताको आधारमा प्रहरीले अनुसन्धान गरेको हो । प्रहरीले करिब ३ महिना लगाएर अनुसन्धान गर्दा समेत गौतमलाई राखेर अनुसन्धान गरेको जनाएको छ ।

हरेकवर्ष सहकारीको आर्थिक गतिविधि र हिसाबको लेखापरीक्षण गर्ने लेखापरिक्षक हिमानसिंह केसी एण्ड एसोसिएटलाई समेत विपक्षी बनाइएको छ । सो संस्था छिपछिपे उपभोक्ता संस्थाको मासिक नियमनकारी निकाय गण्डकी प्रदेश रजिस्टारको कार्यालयलाई भने विपक्षी बनाइएको छैन ।

छिपछिपे सहकारीको नियमनकारी निकाय प्रदेश सहकारी रजिस्टारको कार्यालय हो । यस्ले नियमन गरिरहेको हुन्थ्यो भने यति धेरै रकम हिनामिना हुन पाउँदैनथ्यो भन्ने बचतकर्ताको भनाई छ ।

यो सहकारीको नियमनकारी निकाय गण्डकी प्रदेश सहकारी रजिस्टारको कार्यालय हो । पूर्वी नवलपरासीको कावासोतीमा कार्यालय रहेको यो सहकारीमा २३ सय ९४ जना शेयर सदस्य र बचतकर्ता रहेका छन ।