ललितपुर, जेठ २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी सरकारी ढुकुटीमा हानी नोक्सानी पुर्याएको अभियोगमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७५/०७६ देखि ०७९/०८० को अवधिमा खानीजन्य ढुंगागिट्टी र बालुवाको टेण्डर लगाउँदा सरकारी दर भन्दा कम गरी एक अर्ब चार करोड ८७ लाख ४५ हजार २ सय ८७ रुपैयाँ हानी नोक्सानी पुर्याएको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
महर्जनसहित तत्कालीन प्रशासकीय अधिकृत, अन्य जनप्रतिनिधि र ठेकेदारसमेतलाई अख्तियारले प्रतिवादी बनाएको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार राजस्व चुवाहट गरी खानीजन्य पदार्थका रुपमा रहेका ढुंगागिट्टी बालुवासहितका बस्तु सरकारी दररेट कममा ठेक्का लगाइ हिनामिना गरेको कसुरमा अख्तियारले मुद्दा दायर गरिएको हो ।
प्रतिवादी बनाइएका मेयर महर्जन नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । उहाँ २०७४ को स्थानीय तहको निर्वाचनमा पनि सोही नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्