जनकपुर, जेठ २३ । प्रदेश सभामा विश्वासको मत नपाउने अवस्था देखेपछि मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाको कार्यसूची सार्न सभामुखलाई आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिने सम्बन्धी कार्यसूची सार्न सभामुख रामचन्द्र मण्डललाई पत्र पठाउँदै आग्रह गर्नुभएको हो । मुख्यमन्त्री यादवले आफू अस्वस्थ्य रहेको कारण देखाउँदै विश्वासको मत लिने सम्बन्धी कार्यसूची सार्न आग्रह गरेको सभामुख मण्डलले जानकारी दिनुभयो ।
मुख्यमन्त्री यादवकै आग्रह अनुसार आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक बोलाइएको छ । तर कार्यसूची सार्न आग्रह गरेपछि अब के गर्ने विषयमा सभामुख मण्डल छलफलमा जुटनुभएको छ । उहाँले परामर्श समिति एवं दलका नेताहरूसँग छलफल गरेर मात्रै के गर्ने निर्णय लिने बताउनु भयो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिने तयारी गर्नुभएको थियो । तर नेकपा एकीकृत समाजवादी पनि सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पछि हटनुभएको छ । जसपा नेपालका मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ । लोसपा के गर्नेमा अझै अन्योलमै छ ।
प्रतिक्रिया दिनुहोस्