काठमाडौं, जेठ २३ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले नेपाली कांग्रेसका महामन्त्री गगन थापालेलाई कडा जवाफ फर्काउनु भएको छ । प्रमुख सचेतक बर्ताैलाले पशुपतिमा जतिसुकै धूप अक्षता गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नढल्ने भन्दै कडा जवाफ दिनुभएको हो ।
प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफलको क्रममा महामन्त्री थापाले धेरै आलोचना गर्दा फेरि बजेट कांग्रेसले नै काँध हाल्नुपर्ने अवस्था आउन सक्ने बताएपछि बर्ताैलाले यस्तो जवाफ दिनुभयो ।
संसद बैठकमा कांग्रेस महामन्त्री थापाले भन्नुभएको थियो, ‘यो बजेटमा केही मिल्दैन भनेर बोल्नुपर्ने हो । त्यसरी बोलौँ यति धेरै उथलपुथल भएको छ संसदमा ६–८ महिनापछि यो बजेट हामीले नै काँध हाल्नुपर्ने हो कि ? आफ्नै बोली गलपासो हुने हो कि ? त्यसैले मैले अर्थमन्त्रीलाई सामान्य प्रश्न मात्रै सोध्छु ।’
थापाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानसेनापतिको संज्ञा दिँदै बजेटमा स्वामित्व नदिएकोले बजेटको माइबाप नै नभएको जिकिर पनि गर्नुभयो । थापाको सो भनाईको जवाफ फर्काउँदै एमाले प्रमुख सचेतक बर्तौलाले यो सरकार कसैले चाहेर पनि ढाल्न नसक्ने घोषणा गर्नुभयो ।
‘हामीले बजेटमाथि आफ्नो धारणा राख्ने कुनै बिर्को लगाएका छैनौं । प्रतिपक्षमा बसेका साथीहरूले चिन्ता गर्नुभयो । केही महिनापछि नै बजेट नै आफैले बोकेर हिँड्नुपर्ने परिस्थिति आइहाल्ला कि, त्यसकारण आलोचना नगरौँ प्रश्न मात्रै गरौँ भन्ने कोणबाट पनि कुरा आए,’ थापालाई ज्वाफ दिँदै बर्ताैलाले भन्नुभयो, ‘म भन्न चाहन्छु, यो सत्ता समीकरण त्यति कमजोर डोरीबाट बनेको छैन । पशुपतिमा जतिसुकै धूप अक्षता गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढल्दैन ।’
बर्ताैलाले बलियो विश्वासको आधारमा संकल्प गरेर अघि समीकरण अघि बढेको बताउनु भयो ।
‘माननीयज्यूहरूले पशुपतिमा जुन प्रकारले धूप अक्षता गरेर यो सरकार आजै ढलोस, भोलि ढलोस भनेर जे चाहिरहनुभएको छ । सामान्य केही सुझाव राख्ने बित्तिकै ढलिहाल्छ भने कोणबाट, अन्तिममा मेरै काँधमा आइहाल्छ भन्ने जे आशंका गर्नुभएको छ । त्यहाँसम्म पुग्ने परिस्थिति छैन,’ बर्ताैलाले भन्नुभयो ।
उहाँले सांसदहरूलाई बजेटमाथि टिप्पणी गर्न आफूहरूले रोक नलगाएपनि बजेट पारित गरेर आफूहरू अघि बढ्ने कुरामा कुनै इफ बट नरहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्