जनकपुर, जेठ २३ । मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा केन्द्रको सत्ता गठबन्धन अनुसारकै सरकार बन्ने भएको छ ।
नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही साना दलको समेत गरी ५६ जनाको समर्थनमा जनमतका संसदीय दलका नेता महेशकुमार यादवलाई मुख्यमन्त्री बनाउन लागिएको हो ।
सहमति जुटिसकेकोले अव सत्ता गठबन्धनका तर्फबाट यादवले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुहुनेछ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार बनाउन आह्वान गरेपछि दाबी पेस गर्ने तयारी छ ।
बुधबार प्रदेश सभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार ढलेको छ । जनमत पार्टीकी सांसद अनिताकुमारी शाहका अनुसार, गठबन्धनमा रहेका चार दलका साथै एक स्वतन्त्र र एक संघीय समाजवादी पार्टीका सांसदले पनि समर्थन गरेका छन ।
प्रतिक्रिया दिनुहोस्