जनता टाइम्स

२५ जेष्ठ २०८१, शुक्रबार ०५:०७

कामदार आपुर्तिको मागपत्र बोकेर दूतावास धाउनु पर्ने रोजगारदाताको बाध्यता हट्यो, अव अनलाइनबाटै प्रमाणीकरण


काठमाडौं, जेठ २५ । वैदेशिक रोजगारीको लागि अव श्रमिक आपूर्ति गर्ने रोजगारदाता मागपत्र प्रमाणीकरणका लागि नेपाली दूतावास जान नपर्ने भएको छ ।

दूतावासले दिएको झन्झट र पक्षपातलाई मध्यनगर गर्दै अव रोजगारदाताले आफ्नो कार्यालयबाटै अनलाइनमार्फत मागपत्र प्रमाणीकरण गर्न सक्ने सुविधा पाएका हुन । परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले संयुक्त अरब इमिरेट्स (यूएई) बाट यस्तो व्यवस्था सुरु गरेको छ ।

आबुधावीस्थित नेपाली दूतावासले अनलाइनबाट नै मागपत्र प्रमाणीकरण गर्ने सेवा बिहीबारबाट सुरु गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘मागपत्र प्रमाणीकरण गर्न रोजगारदाता वा प्रतिनिधि नेपाली दूतावासमा जानुपर्दथ्यो । यो व्यवस्थाले दूतावासमा भीड बढ्नुको साथै रोजगारदाताले पनि दुःख पाइरहेका थिए,’ कन्सुलर विभागका महानिर्देशक प्रकाशमणि पौडेलले भन्नुभयो, ‘अब रोजगारदाता दूतावास जानुपर्दैन ।’

कन्सुलर विभागले अनलाइनबाट मागपत्र प्रमाणीकरणको लागि तीन चरण पूरा गर्नुपर्ने व्यवस्था मिलाएको छ । उहाँका अनुसार कन्सुलर बिभागले बनाएको विद्युतीय संयन्त्र (प्लेट फर्म) प्रयोग गर्न रोजगारदाताको आइडी बनाइदिने छ ।

रोजगारदाताले नै फाइल अपलोड गरेपछि पहिलो चरणमा दूतावासको स्थानीय कर्मचारीले हेर्नेछन । दोस्रो चरणमा श्रम सहचारीले हेर्ने र अन्तिममा राजदूत वा नियोग उपप्रमुखले हेरेर प्रमाणीकरण गरिदिने छ । ‘प्रमाणीकरण भइसकेपछि वैदेशिक रोजगार विभागको प्रणालीमा जोडिने पौडेलले जानकारी दिनुभयो ।

तत्कालको लागि भने प्रमाणीकरण हुने निश्चित भइसकेपछि राजस्व भुक्तानीको लागि मात्रै रोजगारदाता नेपाली दूतावास पुग्नुपर्नेछ । मन्त्रालयले राजस्व भुक्तानी गर्नेको लागि सहजीकरण गर्न स्थानीय बैंकसँग समन्वय भइरहेको र केही प्राविधिक विषय टुंगिनसाथ एकपटक पनि रोजगारदाता नेपाली दूतावास आउनु नपर्ने ब्यवस्था मिलाइने छ ।

कन्सुलर सेवा विभागले निर्माण गरेको यस अनलाइन प्रणालीलाई वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना प्रणालीसँग अन्तरआबद्ध गरिएकोले मागपत्र प्रमाणीकरण र श्रम स्वीकृतिसम्बन्धी कार्य एउटै प्रणालीबाट सम्पन्न हुने मन्त्रालयको भनाई छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले यो नयाँ प्रणालीको सुरुआतसँगै परराष्ट्र मन्त्रालयसँग समन्वय गर्दै वैदेशिक रोजगारीका क्षेत्रमा सुधारका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउँदै लगिने योजना अघि बढाइएको बताउनु भयो ।

कन्सुलर विभागले रोजगारदाता कम्पनी तथा नियोगको कार्य पारदर्शी, सहज र कागजरहित हुनुका साथै सेवाग्राहीहरूले समेत लाभ प्राप्त गर्ने जनााएको छ । यस्तो प्रणाली अन्य नियोगहरूमार्फत पनि क्रमिक रुपमा उपलब्ध गराउँदै जाने योजना रहेको विभागले जनाएको छ ।