जनता टाइम्स

२५ जेष्ठ २०८१, शुक्रबार ०५:४६

हङकङबाट भएको ६० किलो सुन तस्करीमा मोबाइल वालेट कम्पनीको पनि संलग्नता भेटियो


काठमाडौं, जेठ २५ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट भित्र्याइएको ६० किलो ७ सय ग्राम सुन तस्करीमा संलग्न रहेको अभियोगमा प्रहरीले १० जनालाई थुनामा राखेर अनुसन्धान अघि बढाएको छ ।

दोस्रो चरणको अनुसन्धानको क्रममा हङकङबाट गरिएको सुन तस्करीको रकम भुक्तानी गर्दा मोबाइल वालेटको समेत दुरुपयोग भएको भेटिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको हो ।

अवैध सुन कारोबारको रकम भुक्तानीमा मोबाइल वालेट ‘पेवेल’ र ‘सजिलो पे’ दुरुपयोग गरेको भेटिएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले बताउनु भयो । उहाँका अनुसार सुन तस्करले कारोबारको भुक्तानी वालेटमार्फत गरेको पाइएको हो ।

सिआइवीका अनुसन्धानले यो तथ्य फेला पारेसँगै नेपाल राष्ट्र बैङ्कले दुई वटा मोबाइल वालेट कम्पनीको खाता रोक्का गरेको छ । राष्ट्र बैङ्कले बालुवाटारमा कार्यालय रहेको सजिलो पे पेमेन्ट सर्भिसेज प्रालि र अनामनगरमा कार्यालय रहेको पेवेल नेपाल प्रालिको कारोबार रोक्का गरेको हो ।

प्रहरीका अनुसार तस्कर समूहले दुई वटा मोबाइल वालेट कम्पनीमा पैसा डिपोजिट गर्ने गरेका थिए । जम्मा गरेको सो रकम वालेट कम्पनीले आफ्नो बैंक खातामा जम्मा गर्थे र दोस्रो समूहलाई भुक्तानी दिने गरेका थिऐ । दुई वटा वालेट कम्पनीले सुनको भुक्तानीबापत ३ अर्बको कारोबार गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

चिनियाँ सुन तस्कर दाओजिन वाङ सहितको समूहले ब्रेक प्याडमा लुकाएर ६० केजी सुन काठमाडौँमा ल्याएको तथ्य यसअघि नै खुलिसकेको छ । सो सुन कारोबारको रकम आन्तरिक रेमिट्यान्स तथा वालेटमा ब्यालेन्स लोड गर्ने नाममा अवैध कारोबार गरेर वालेट कम्पनीहरूले भुक्तानी गरेका हुन ।