जनता टाइम्स

२५ जेष्ठ २०८१, शुक्रबार १४:२४

जनमतका सतिश मुख्यमन्त्री बनेलगत्तै मधेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता, १३ मन्त्रीले लिए शपथ


जनकपुर, जेठ २५ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले आजै १४ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ ।

जनमतका सिंहले शपथलगत्तै नियुक्त गर्नुभएका १० मन्त्री र ३ राज्यमन्त्रीलाई पनि शपथ गराइएको छ । मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा भण्डारी र राज्यमन्त्रीलाई मुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथ गराउनु भयो ।

नयाँ मन्त्रीहरूमा नेकपा एमालेबाट सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृतिमन्त्री र प्रमोद जैसवाल खेलकुद तथा समाज कल्याण मन्त्री बन्नुभएको छ ।

यस्तै नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइमन्त्री बन्नुभएको छ । उहाँहरु दुवै जना अघिल्लो सरकारमा पनि मन्त्री हुनुहुन्थ्यो । त्यस्तै नेकपा माओवादी केन्द्रबाट भरतप्रसाद साह अर्थमन्त्री र यूवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन मन्त्री नियुक्त हुनुभयो । उहाँहरु दुबैजना पनि शपथग्रहण गर्नुभएको छ ।

नेपाल समाजवादी पार्टीकी विमला अंसारी गृह सञ्चार तथा कानून मन्त्री र नागरिक उनमुक्ति पार्टीकी उर्मिलादेवी सिंह श्रम तथा यातायातमन्त्रीको शपथ लिनुभएको छ । उहाँहरु दुवै जना पार्टीको एक्ला सांसद हुन ।

यस्तै तीनजना राज्यमन्त्री पनि नियुक्त गरिएको छ । एमालेबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा शारदादेवी थापा र शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा केशव राय तथा जनमतकी रञ्जु खंगलाई विना विभागीय राज्यमन्त्री नियुक्त हुनुभएको छ ।