जनता टाइम्स

२५ जेष्ठ २०८१, शुक्रबार १५:००

भाजपा सांसद कंगनालाई सुरक्षाकर्मीले थप्पड हानेपछि


भारत, २५ जेठ । भारतीय जनता पार्टी (भाजपा) की लोक सभा सांसद कंगना रनावतलाई थप्पड हान्ने सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स (सिआइएसएफ) की सुरक्षाकर्मी निलम्बनमा परेकी छन् । सुरक्षाकर्मी कुलविन्दर कौरले चण्डीगढ विमानस्थलमा रनावतमाथि बिहीबार थप्पड हानेको आरोप छ । हिमाचल प्रदेशको मन्दी क्षेत्रबाट लोक सभा सदस्य निर्वाचित भएकी कंगना नयाँ दिल्ली जान विमानस्थल पुग्नुभएको थियो । त्यही बेला सुरक्षाकर्मी कौरले रनावतमाथि थप्पड हानेको आरोप छ ।

सांसदमाथि थप्पड हानेको आरोपमा कौरलाई निलम्बनसमेत गरिएको छ । उनीविरूद्ध एफआइआर (उजुरी) पनि दर्ता भएको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ । घटनापछि सामाजिक सञ्जालमा भिडिओहरू सार्वजनिक भएर भाइरल समेत भएको थिए । कंगना रनावतले पनि आतंक फैलिएको भन्दै सामाजिक सञ्जालमा भिडिओ हाल्नुभएको थियो । ‘उनले मलाई अनुहारमा हिर्काइन् र ममाथि दुर्व्यवहार गर्न थालिन् । मैले उनलाई सोधेँ किन गरेको भनेँ । उनले किसान आन्दोलनका लागि आफ्नो समर्थन रहेको बताइन्,’ रनावतले लेख्नुभएको छ,‘म अहिले सुरक्षित छु । तर पञ्जाबमा आतंक बढेकोमा मेरो चिन्ता छ । यसलाई हामीले कसरी नियन्त्रणमा लिने ?’

त्यस्तै कौरले पनि घटनापछि बोलेको भिडिओ बाहिरिएको थियो । नयाँ दिल्लीमा भएको किसान आन्दोलन हुँदा रनावतले किसानको अपमान गरेको हुँदा थप्पड हानेको भन्दै भिडिओमा बोल्नुभएको थियो । किसानहरूले १५ महिनासम्म आन्दोलन गरेका थिए । त्यस आन्दोलनमा कौरकी आमा पनि सहभागी थिइन् । रनावतले आन्दोलनमा सहभागीहरू १०० भारू लिएर आन्दोलन गर्न पुगेको टिप्पणी गरेकी थिइन् ।

‘किसान आन्दोलनमा सहभागी किसानहरू १०० भारू लिएर बसेको टिप्पणी दिएकी थिइन् । उनी त्यसरी बस्न जान्छिन् ? मेरी आमा त्यहाँ बसेर आन्दोलन गरिरहेकी थिइन् जब उनले त्यस्तो टिप्पणी गरिन्,’ कौरले भन्नुभएको थियो । सुरक्षाकर्मी कुलविन्दर कौर सन् २००९ मा सिआइएसएफमा प्रवेश गर्नुभएको थियो । दुई वर्षयता उनी उक्त विमानस्थलमा कार्यरत थिइन्। उनका दाई शेर सिंह किसान नेता हुन् । उनी किसान मजदुर संघर्ष समितिका सचिव पनि छन् ।