जनता टाइम्स

१५ आश्विन २०७६, बुधबार १९:४५

पाँच लाख घुससहित समातिए ओभरसियर


काठमाडौं, असोज १५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुससहित एक जना ओभरसियरलाई नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले काठमाडौंको टोखाबाट ती ओभरसियरलाई हिजो घुससहित रंगेहात नियन्त्रणमा लिएको हो ।

लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । टोखा नगरपालिकाले भवन निर्माण सम्पन्न गरेको प्रमाणपत्र उपलब्ध गराउने क्रममा चौधरीले सेवाग्राहीसँग घुस मागेका थिए ।

सो सूचनाका आधारमा केन्द्रीय कार्यालय टङ्गालबाट खटेको अख्तियारको टोलीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।