काठमाडौं, २६ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार शपथ लिनुहुनेभएको छ । मोदी यसअघि शुक्रबार प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त हुनुभएको थियो । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबि पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । शपथ ग्रहण समारोह आइतबार साँझ ७ः१५ बजे हुने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरुले सहभागिता जनाउने भएका छन् । निमन्त्रणामा छिमेकी राष्ट्रका सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत छन् ।
नेपालका प्रधानमन्त्री प्रचण्ड शपथ समारोहमा सहभागी हुन आइतबार बिहान दिल्ली जानुहुनेभएको छ । केन्द्रीय सरकारको विज्ञप्ति अनुसार राष्ट्रपति द्रौपदी मुर्मुले सपथ ग्रहण समारोहमा सहभागी विदेशी नेताहरुका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नुहुनेछ । भारतको ‘छिमेकी नीति’ र ‘सागर’ भिजन अन्तर्गत छिमेकी राष्ट्रका नेताहरुलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्