काठमाडौं, जेठ २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताले बोकेको मान्छेलाई भूईंमा पछार्दै सर्वसम्मत नेतृत्व चयन गर्न काठमाडौं जिल्लाका प्रतिनिधिलाई सुझाव दिनुभएको छ ।
संघीय राजधानी काठमाडौंको अध्यक्ष चयनमा सकेसम्म चुनाव नगर्न पनि अध्यक्ष ओलीले सुझाव दिनुभएको छ । ‘सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नाेस, संभव भएन भने पनि नेताले बोकेको मान्छेतिर नलाग्नोस,’ आज आयोजित एमाले काठमाडौंको अधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो । उहाँले प्रतिस्पर्धा गर्ने हो भने कुनै पनि उम्मेदवारलाई नबोक्न नेताहरुलाई निर्देशनसमेत दिनुभयो ।
‘स्वस्थ प्रतिस्पर्धा नहुने, एक जनाले अर्को बोक्ने, अर्काले अर्को बोक्ने अनि नेताले प्रेस्टिज इस्यु बनाएर एउटालाई ढाल्नुपर्ने, अर्कोलाई उठाउनु पर्ने यो खालको कुराले पार्टीमा राम्रो गर्दैन । त्यसकारण कृपया नेताहरु कोही बोक्नुभएको छ भने बालक कोही छैन, भुइँमा राख्नुस, काँधमा बोक्नु पर्दैन,’ अध्यक्ष ओलीले थप्नुभयो । नेताहरु गुटबन्दीमा लाग्दा काठमाडौंमा पार्टीले पराजय भोग्नुपरेको संकेत पनि अध्यक्ष ओलीले गर्नुभएको छ ।
नेताले आपसमा मिलाउनुपर्ने भन्दै उहाँले प्रतिस्पर्धा गर्ने हो भने कार्यकर्तालाई निर्धक्क र स्वतन्त्र रुपमा भोट हाल्न दिनुपर्ने अध्यक्ष ओलीको भनाई छ । ‘मिलाउनु हुन्छ भने नेताहरुले मिलाए हुन्छ, प्रतिस्पर्धा गर्ने हो भने कार्यकर्तालाई भोट हाल्न दिनुस, अरु कुरा गर्दै नगर्नुस,’ अध्यक्ष ओलीले सार्वजनिक रुपमै नेतालाई भन्नुभयो ।
पार्टीभित्र अव काममा प्रतिस्पर्धा गर्नुपर्ने भन्दै अध्यक्ष ओलीले मतपेटिकामा मात्र प्रतिस्पर्धा गर्न उचित नहुने बताउनु भयो । ‘बाकसमा, ब्यालेटमा प्रतिस्पर्धा गरेर हुन्छ ? पार्टीले चुनाव जित्छ ? जनताको मन जित्न सकिन्छ ? त्यो कामले घाटा मात्रै हुन्छ । अव काममा प्रतिस्पर्धा, विचारमा प्रतिस्पर्धा, सक्रियतामा प्रतिस्पर्धा, शैलीमा प्रतिस्पर्धा, ती सबै कुरामा प्रतिस्पर्धा गर्नुपर्यो,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले एमाले अधिवेशनको क्रममा कतिपय जिल्ला र प्रदेशमा गलत काम भएको समेत बताउनु भयो । ‘कतिपय ठाउँमा प्रतिस्पर्धाका नाउँमा गलत प्रवृत्ति देखिएका छन, काठमाडौंमा त्यो देखिनुहुन्न,’ अध्यक्ष ओलीले भन्नुभयो । सम्बोधनको क्रममा उहाँले पार्टीमा आफूले सोचेजसरी नयाँ नेतृत्व पैदा हुन नसकेको खुलासा पनि गर्नुभयो । ‘हरेक कमिटीबाट नयाँ नेतृत्व उम्रेर आइरहनु पर्ने हो तर कसलाई बनाउँ भनेर खोजी गर्दा राम्रो मान्छे पाउन मुश्किल भएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले काठमाडौंका अध्यक्षमा आफूले कसैकोनाम नलिएको भन्दै गलत प्रचार भए ठेगान लगाउन कार्यकर्तालाई सुझाउनु भयो । काठमाडौंको अध्यक्ष को हुनुपर्छ आफूले नभन्ने भन्दै ओलीले अध्यक्षको कुर्सीमा जो बसे पनि हुन्छ भन्ने पनि नसोच्न आग्रह गर्नुभयो ।
‘यो कुनै भावावेशको कुरा होइन, मैले धेरै केही भनिरहनु पर्लाजस्तो लाग्दैन । तपाईंहरुले एउटा मूल्यांकन गरिसक्नु भएको छ, एउटा अठोट गरिसक्नु भएको छ, कसले पार्टी चलाउन सक्छ, कसलाई नेतृत्व दिनुपर्छ तपाईहरुले बुझ्नुभएको छ,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले जति जना प्रतिस्पर्धा गरे पनि एक जनाले जित्ने भन्दै जितिन्न भन्ने थाहा पाउँदा पाउँदै चुनावमा किन उठ्ने भनेर प्रश्न गर्नुभयो ।
‘चुनावमा उठेर, लडेर त्यहाँ फ्याक (बिभाजन) बनाएर मन चाहिँ मिलेको छैन हाम्रो भनेर, किन नमिलाउने मन ? केले रोकेकेको छ मन मिलाउन ?’ उहाँको भनाई थियो । उहाँले चुनावमा प्रतिस्पर्धा गर्नै पर्ने अवस्था आएमा वा आपसमा मिल्दै नमिल्ने हो भने पनि व्यक्तिको सिंङ फुकालेर संगठनलाई नोक्सान नपार्ने गरी प्रतिस्पर्धा गर्न निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्