जनता टाइम्स

२७ जेष्ठ २०८१, आईतवार ०९:०६

‘ठोरीलाई नेपाल-भारत र चीन जोडने नाकाका रूपमा स्थापित गर्नुपर्छ’


चितवन, जेठ २७ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले पर्साको ठोरी नाकालाई त्रिदेशीय नाकाका रूपमा स्थापित गरेर व्यापारिक र पर्यटकीय गतिविधि बढाउनुपर्ने बताउनु भएको छ ।

भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर शनिबार पर्साको ठोरीमा आयोजित दुई देशीय पर्यटन प्रवर्द्धनसम्बन्धी छलफलमा नगरप्रमुख दाहालले यस्तो बताउनु भएको हो । उहाँले दूरीका हिसाबले ठोरी–केरुङ नाका सबैभन्दा छोटो भएकाले नेपाल, भारत र चीन तीनवटै मुलुक जोड्ने यो नाकाबाट लाभ लिनेतर्फ काम गर्न आवश्यक भएको बताउनु भयो ।

‘ठोरी छोटी भन्सारलाई व्यापारिक दृष्टिकोणबाट नभई पर्यटकीय हिसाबले आउने पर्यटकको सहजताका लागि दुई महिनाअगावै सञ्चालनमा ल्याएका छौँ,’ दाहालले भन्नुभयो, ‘भारतीय पर्यटकले प्रयोग गर्ने उताका सवारीसाधनलाई अस्थायी अनुमति लिन वीरगञ्ज धाउनुपर्ने बाध्यता थियो, अब त्यो सेवा ठोरी छोटी भन्सारबाटै प्रवाह भएको छ । यसले पर्यटकीय गतिविधिमा ठूलो फाइदा पुर्याएको छ ।’

वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत देवी साही मीनाले भारत र नेपालबीच सदियौँदेखिको सांस्कृतिक एवं धार्मिक सम्बन्धलाई दुवै देशका धार्मिक तथा पर्यटकीय गन्तव्यमा भारतीय र नेपालीले भ्रमण गर्नुपर्नेमा जोड दिनुभयो ।

ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले केही समय यता ठोरी नाकाबाट भारतीय पर्यटकको सङ्ख्या बढिरहेको बताउँदै उनीहरूलाई भ्रमणमा प्रोत्साहन गर्न सम्बद्ध सबैलाई अनुरोध गर्नुभयो ।