जनता टाइम्स

२७ जेष्ठ २०८१, आईतवार १६:१०

बन्द भएका उद्योगहरू सञ्चालन गरी रोजगारीको अवसर सिर्जना गर्ने काममा सरकार लागेको उद्योगमन्त्री भण्डारीको खुलासा


धनगढी, जेठ २७ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार बन्द भएका उद्योगहरू सञ्चालन गरेर रोजगारीका अवसरहरू सिर्जना गर्नतिर लागेको बताउनु भएको छ ।

सुदूरपश्चिम स्तरीय ‘श्रमाधान तथा रोजगार मेला’को आइतबार धनगढीमा उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनु भएको हो ।

‘यसअघिका मन्त्रीहरूले नेपालमा बन्द भएका उद्योगहरू अब सञ्चालनमा ल्याउन नसकिने भन्दै प्रतिवेदन बनाएर राखेका रहेछन, मैले मन्त्रालयमा उद्योगहरूको अवस्था बुझ्ने क्रममा त्यस्तो पाएँ। तर, वर्तमान सरकार बन्द भएका उद्योगहरू सञ्चालन गरेर त्यसबाट रोजगारीको अवसर सिर्जना गर्ने काममा दृढतापुर्वक लागेको छ,’ उद्योगमन्त्री भण्डारीले भन्नुभयो ।

उद्योगमन्त्री भण्डारीले कच्चा पदार्थ नपाएर बन्द भएका उद्योगहरू फेरि सञ्चालनमा ल्याउने पनि बताउनु भयो । ‘केही राम्रा राम्रा उद्योगहरू कच्चा पदार्थ नपाएर बन्द भएका छन, कच्चा पदार्थ आपूर्तिका लागि ऐन नियमहरू बाधक थिए। मैले ८ वटा ऐन नियमहरू संशोधन गरेको छु,अब उद्योगहरूलाई आधुनिक तरिकाले सञ्चालन गर्न सकेमात्रै रोजगारीको सिर्जना गर्न सकिन्छ,’ उहाँले भन्नभुयो ।

उहाँले नवउद्यमीहरूलाई अगाडि ल्याउन ब्याजमा अनुदानका लागि १ अर्बको प्याकेज ल्याएको जानकारी पनि दिनुभयो । ‘उद्योग भएनन् भने देशको उत्पादन हुँदैन,अनि रोजगारी पनि हुँदैन,त्यसैले हामीले औद्योगिक ग्रामहरूलाई स्थानीय र प्रदेश सरकारसँग मिलेर प्राथमिकतामा राखेका छौं,’ उद्योगमन्त्री भण्डारीको भनाइ थियो ।

उहाँले बैदेशीक रोजगारीबाट फर्केका युवाहरू,सिमान्तकृत युवाहरुलाई लक्षित गर्दै कार्यक्रम बनाएको जानकारी पनि दिनुभयो । ‘चालू आर्थिक वर्ष तीव्र आर्थिक वृद्धि वर्षका रुपमा मनाउने सरकारको तयारी छ । हामीले सतप्रतिशत आर्थिक वृद्धिदर हाँसिल गर्नुछ,’ मन्त्री भण्डारीले भन्नुभयो ।

धनगढीको ओम प्यालेसमा आयोजना गरिएको श्रमाधान मेलामा विभिन्न उद्योग, संघसंस्थाका स्टलहरु रहेका छन । रोजगारदाता र रोजगार खोज्नेका बीच पुलको काम गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो । मेलामा आइतबारसम्म ५ हजार आवेदन परेको आयोजकले जनाएको छ ।