जनता टाइम्स

२७ जेष्ठ २०८१, आईतवार १८:३०

तस्करीको सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट समातिए चार जना कारोवारी


काठमाडौं, जेठ २७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चार जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुंगा नगरपालिका–५ का २१ वर्षीय मोहम्मद अरमान र सप्तरी खडक गरपालिका–६ का ३७ वर्षीय ज्याउदिन मियाँ रहेका छन ।

प्रहरीले कोइराला र आलामबाट २५ ग्राम सुनको सिक्री एक थान र ६९ दशमलव ९९ ग्राम सुनको काँचो डल्लोसहित बरामद गरिएको जनाएको छ ।

यस्तै, ५० ग्राम सुनको सिक्रीसहित अरमान र मियाँलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, केन्द्रीय समाचार कक्षले जनाएको छ । केन्द्रीय समाचार कक्षका अनुसार उनीहरुलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट पक्राउ गरिएको हो ।