जनता टाइम्स

२७ जेष्ठ २०८१, आईतवार २०:१९

बिद्यालयको नमपरीमाथि काठमाडौं महानगरको लगाम, बन्द गरायो विद्यालयले भाडामा दिएका सटर


काठमाडौं, जेठ २७ । काठमाडौं महानगरपालिकाले बिद्यालयहरुको ज्याद्धती र कमिशनखोर प्रबृत्तिमाथि लगाम लगाएको छ । विद्यालयले भाडामा दिएका सटरहरू बन्द गराएर काठमाडौं महानगरपालिकाले सुधार अभियान थालेको हो ।

महानगर शिक्षा शाखाका अधिकृत इन्द्रप्रसाद दाहालका अनुसार आइतबार भाडामा लगाइएका चार वटा विद्यालयका सटर बन्द गरिएको छ । आइतबार पद्मोदय, शहीद शुक्र, पद्मकन्या र विजय स्मारक स्कुलले भाडामा दिएका सटर बन्द गरिएको दाहालले जानकारी दिनुभयो । महानगरले यसअघि नै आदर्श आधारभूत विद्यालयको सटर बन्द गराइसकेको छ ।

महानगरले गत असोजदेखि नै विद्यालयले भाडामा लगाएका सटर खाली गराउन सूचित गर्दै आएको थियो । महानगरले विद्यालयका सटर भाडामा लिएर व्यवसाय गरिरहेका व्यापारीहरूलाई एक हप्ताभित्र सामान लिएर जाने समय दिएको छ । काठमाडौं महानगरपालिकाभित्रका ३७ वटा विद्यालयले सटर भाडामा लगाएको शाखाले जनाएको छ ।

‘अबदेखि सबै विद्यालयका सटरहरू विद्यालय प्रयोजनकै लागि प्रयोग हुन्छन । सटर भाडामा नदिँदा विद्यालय सञ्चालनमा आर्थिक भार पर्छ भने त्यसमा महानगरले सघाउँछ,’ दाहालले भन्नुभयो । उहाँका अनुसार सटर भाडामा लगाएर विद्यालय सञ्चालन गरिरहेका विद्यालयको अध्ययन गरेर आवश्यक रकम उपलब्ध गराउने तयारी महानगरले गरेको छ ।