जनकपुर, जेठ २८ । आफ्नै कार्यकक्षमा खानेकुरामा बेहोस हुने औषधी मिसाएर मध्यराती बलात्कार गरेको अभियोगमा फरार रहेका मुख्यमन्त्री कार्यालयमा कार्यरत उपसचिवले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन ।
जबर्जस्ती करणी अभियोगमा फरार भएका मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहले शनिवार प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन ।
उपसचिव साहले शनिबार नै धनुषा प्रहरीमा आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत माघ १८ गते साहले मधेश भवनभित्र रहेको सरकारी कर्मचारी क्वाटरमा राति साढे १० बजेतिर ‘भगवानको प्रसाद’ भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिएर बेहोस बनाई महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।
पीडित महिलाले गत वैशाख पहिलो साता आफूलाई बेहोस बनाएर उपसचिव साहले बलात्कार गरेको भन्दै प्रहीमा जाहेरी दिएकी थिइन । जाहेरीपछि धनुषा जिल्ला अदालतबाट साहविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएलगत्तै उपसचिव साह फरार थिए । प्रहरीले खोजी तीब्र बनाएपछि उनले आत्मसमर्पण गरेका हुन ।
सिराहाको बरियारपटी गाउँपालिका–४ तेनुवापट्टी निवासी साह आत्मसमर्पण गरेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । साहले पीडितका श्रीमान नभएको मौका पारेर राति कोठामा गएर नशालु पदार्थ मिसिएको पेडा दिएको र रातभर बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्