जनता टाइम्स

२८ जेष्ठ २०८१, सोमबार १०:२३

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटबार्ता, नेपाल-भारत सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त


काठमाडौं, जेठ २८ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता गर्नुभएको छ ।

आइतबार राती भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाई दिँदै उहाँको यस कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहाल आइतबार साँझ प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको थियो । सोही समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल आइतबार नै भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डका साथमा छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी रहनुभएको छ । प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।