जनता टाइम्स

२८ जेष्ठ २०८१, सोमबार ११:५५

सोडारी नेतृत्वको सुदूरपश्चिम सरकारमा सहभागी हुँदै एमाले, माओवादीले मन्त्रीको नाम टुंग्याए आजै बिस्तार


कैलाली, जेठ २८ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घराज सोडारीले आज सरकार बिस्तारको तयारी थाल्नुभएको छ । आज एमाले, माओवादी र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराउने तयारी मुख्यमन्त्री सोडारीले गर्नुभएको हो ।

मन्त्रिपरिषद बिस्तारको तयारीसँगे नेकपा एमालेले सरकारमा सहभागी हुने मन्त्रीहको नाम टुङ्गो लगाएको छ ।

एमालेले सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीलाई मन्त्री बनाउने गरी नाम तय गरेको बताइएको छ । पालले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने तय भए पनि अन्य दुई जनाको मन्त्रालय नटुङ्गिएको कारण ठोश निश्कर्ष आउन सकेको छन ।

एमालेले मन्त्रीको टुङ्गो लगाउँदा माओवादी केन्द्रमा भने अझैसम्म विवाद साम्य भएको छैन । माओवादी केन्द्रले सुरुमा ओम विक्रम भाट सरल र अक्कल रावललाई मन्त्री बनाउने तयारी गरेको थियो । तर, आइतवार बसेको संसदीय दलको बैठकमा माओवादीबाट सबैजसो सांसदले मन्त्रीको आकाङ्क्षा गरेपछि मन्त्रीको नाम टुङ्गो लगाउन समस्या भएको हो ।

माओवादीबाट रमेश धामी, ओम विक्रम भाट सरल र लक्ष्मी विक मध्ये एक जना मन्त्री बन्ने स्रोतको भनाई छ । यस्ते शिव ओली, झपट साउद र अक्कल रावल मध्ये एक जना मन्त्री बन्ने बताइएको छ ।

यस्ते स्वतन्त्र सांसद डा. तारा जोशीलाई पनि सरकारमा ल्याउने तयारी गरिएको छ । एमालेले सरकारमा सहभागी हुने तयारी गरिरहेका बेला माओवादीले पनि नाम टुङ्गो लगाउने सके आजै सरकार बिस्तार हुने बताइएको छ ।