जनता टाइम्स

१६ आश्विन २०७६, बिहीबार ०९:०९

एनआरएनए निर्वाचन : अध्यक्षका पत्यासी कुमार पन्त र कुल आचार्यले छान्न थाले यस्तो टीम


काठमाडौं, असोज १६ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसिसि) को नवौं विश्व सम्मेलनमा अध्यक्षका उम्मेद्वारद्वय कुमार पन्त र कुल आचार्यले आफ्नो अभियानलाई तीब्रता दिनुभएको छ । दुवै उम्मेद्वारले औपचारिक रुपमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै बिश्वभर रहेका एनआरएनएमाझ आफ्नो एजेण्डासहित अभियान बढाउनु भएको हो ।

पन्तले संबिधान दिवसको दिन काठमाडौंमा अध्यक्षको उम्मेद्वारी घोषणा गर्नुभएको थियो भने आचार्यले गृहनगर लन्डनबाटै उम्मेद्वारी घोषणा गर्नुभएको हो । चुनावको मिति नजिकिँदै जाँदा दुवै उम्मेद्वारले आफ्नो टीमको सदस्य छान्ने कामसमेत अघि बढाउनु भएको छ । सम्मेलनको मिति नजिकिदै गर्दा अध्यक्षका दुवै प्रत्यासीले आफ्नो रणनीतिक टीम बनाएर चुनावी अभियानलाई तीब्रता दिनुभएको छ । एनआरएनएमा पुराना मित्रका रुपमा रहेका पन्त र आचार्य दुवैले नेतृत्वका लागि उम्मेद्वारी घोषणा गरेसँगै चुनावी अभियान अघि बढाउनु भएको छ । चुनावी अभियान सकेर पन्त बिहीवार साँझ काठमाडौं आइपुग्नु हुनेभएको छ भने आचार्य केही दिनपछि आउने बताइएको छ ।

उपाध्यक्ष पन्तले आफू यसअघि नै सहमतिमा यस पटक अध्यक्ष हुने तय भइसकेको कारण उम्मेद्वारी घोषणा गर्नै नपर्ने बताएर चुनावी अभियानमा लाग्नुभएको छ भने आचार्य बिश्वभर छरिएर रहेका एनआरएनएका प्रतिनिधिले उम्मेद्वारी दिन दवाव दिएकोले पछि नहटेको बताउनु भएको छ । पन्त र आचार्यले उम्म्दवारी घोषणा र टीममा रहने पदाधिकारी तथा सदस्य छान्न थालेसँगै एनआरएनएभित्र चुनावी सरगर्मी एकाएक बढेको छ भने टीममा पर्न आकांक्षीहरु पनि दौडधुपमा लागेका छन । एनआरएनएको विश्व सम्मेलन तथा महाधिबेशन आगामी असोज २८ गतेदेखि काठमाडौंमा हुँदैछ । अध्यक्षका दुवै प्रत्यासीले एक अर्काेलाई कमजोर बनाउन प्रभावशाली ब्यक्ति चोर्ने खेलसमेत अघि बढाएका छन ।

अघिल्लो पटक कुमार पन्तलाई आफूपछिको अध्यक्ष बनाउने सहमतिका साथ अध्यक्ष बनेका भट्ट उम्मेद्वार नबने घोषणा गरेपनि सार्वजनिक रुपमा केही बोल्नुभएको छैन । पन्तको बिश्वस भट्टले आफूलाई नै सघाउने रहेको छ भने आचार्य पनि आफूलाई भट्टको साथ रहने बिश्वाश ब्यक्त गर्नुभएको छ । ‘राम्रो टीम बनाउने अन्तिम प्रयत्न भइरहेको छ, चुनावमा मलाई समस्या छैन, सहज रुपमा जित्छु,’ अध्यक्षका प्रत्यासी पन्तले जनताटाइम्ससँग भन्नुभयो । पन्तले उहाँ बिश्वरभको भेटघाटपछि ठुलै मतअन्तरमा चुनाव जित्ने निश्कर्षमा पुगेको जानकारी पनि दिनुभयो । अर्का उम्मेद्वार आचार्यले पनि पन्तकै जस्तो आफूले सहज रुपमा जित्ने दावी गर्नुभयो ।

‘मलाई चुनाव जित्न गाह्रो छैन, अहिलेसम्म सवैतिबाट साथीहरुले जुन उत्साहका साथ अघि बढनोस भन्नुभएको छ, त्यस आधारमा सहज ढंगबाट जितिन्छ भन्ने लागेको छ,’ चुनाव त कुमार पन्तले जित्ने निश्चित भयो भन्छन नि भन्ने जनताटाइम्सको प्रश्नमा आचार्यले भन्नुभयो ।