जनता टाइम्स

२८ जेष्ठ २०८१, सोमबार १४:४३

त्रिबिको हडपिएको जग्गा खोज्ने समितिले थाल्यो काम, यस्तो छ प्रारम्भिक अभियान


काठमाडौं, जेठ २८ । पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयको जग्गा तथा चल अचल सम्पत्ति खोज्न गठित समितिले काम थालेको छ । समितिले आजबाट काम थालेको हो ।

समितिका अध्यक्ष तथा पदाधिकारीहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आइतबार मन्त्रालयमा स्वागत गर्नुभएको थियो । मन्त्रीले स्वागत गरेसँगै समितिले काम अघि बढाएको छ । सरकारले जेठ १७ गते त्रितालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।

प्रारम्भिक चरणमा काठमाडौं उपत्यकाभित्रको जग्गाको अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोजबिन तथा लगत संकलन गर्ने कार्यादेश तोकिएको छ । समितिले आइतबारदेखि शिक्षा मन्त्रालयमै कार्यकक्ष रहने गरी काम थालेको छ ।

शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री सुमना श्रेष्ठले २०८१/०१/२६ गते समिति गठनबारे निर्णय गर्नुभएको थियो । नेपाल सरकार (कार्य सम्पादन नियमावली, २०६४ को अनुसूची १ को विषय संख्या ४१ अनुसार निर्णय गर्दै उक्त समिति गठनको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गर्नुभएको थियो । सोही आधारमा जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले त्रितालको संयोजकत्वमा समिति गठन गरेको हो ।

समिति सदस्यहरूमा पूर्वसह–सचिवद्वय महेन्द्रकुमार थापा र जानकी बल्लभ अधिकारी, प्रा.डा. प्रेमसागर थापा त्रिवि विज्ञ सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुशीला अधिकारी सदस्य सचिव हुनुहुन्छ । समितिलाई तीन महिनाको समय दिइएको छ ।

समितिले त्रिविको जग्गा तथा भवनको लगत, उपयोग, संरक्षण र व्यवस्थापन सम्बन्धमा विद्यमान अवस्था पहिचान गर्ने, त्यसका लागि नीतिगत सुधारका उपायहरू प्रस्तुत गर्ने, जग्गा संरक्षण, प्रयोग, व्यवस्थापन, उपयोग र पूर्वाधार निर्माणका सम्बन्धमा गर्नुपर्ने तत्कालीन तथा दीर्घकालीन कार्यहरूको बारेमा सुझाव दिने, विगतमा त्रिविबाट जग्गा संरक्षण र प्रयोग सम्बन्धमा अदालतबाट भए गरेका फैसला÷आदेशको अध्ययन कार्यदल वा समिति वा कसैबाट कुनै अध्ययन भएको भए सोको कार्यान्वयनको अवस्था अध्ययन गर्ने लगायतका जिम्मेवारी दिइएको छ ।

त्रिताल यसअघि बालुवाटारस्थित ललिता निवासको जग्गा अपचलनसम्बन्धी छानबिन समिति–२०७५ का संयोजक समेत हुनुहुन्छ । उहाँकै नेतृत्वमा बनेको समितिले ललिता निवाशको जग्गा हिनामिना प्रकरणलाई बाहिर ल्याएको थियो ।