जनता टाइम्स

२८ जेष्ठ २०८१, सोमबार १८:४०

सत्ता गठबन्धनकै सांसदले फ्लोर क्रस गरेपछि गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


पोखरा, जेठ २८ । सत्तारुढ गठबन्धनमै रहेका सांसदले फ्लोर क्रस गरेपछि गण्डकीमा नेपाली कांग्रेसका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले बिश्वासको मत पाएको छ । प्रदेशसभामा आज भएको मतदानमा फ्लोर क्रस हुँदा गण्डकी मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउनु भएको छ ।

मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत परेको छ भने विपक्षमा २८ मत परेको छ । पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीबाट चुनाव लडेका नेसपा सांसद फडिन्द्र देवकोटाले मत दिनुभएको हो ।

यसैगरी विपक्षमा नेकपा एमालेका २२ र माओवादीका ६ प्रदेशसभा सदस्यको मत परेको थियो । देवकोटा माओवादीबाट चुनाव लडेर निर्वाचित भएका पनि उनले फ्लोर क्रस गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिनुभएको हो ।

देवकोटाले आफू माओवादीको संसदीय दलमा नरहेर नेसपाकै प्रदेशसभा सदस्यको हैसियतमा रहेको दाबी गर्दै आउनु भएको छ । उहाँकै फ्लोर क्रसका कारण संविधानको धारा १६८ (३) बमोजिम सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेको पद जोगिएको छ ।

६० सदस्यीय प्रदेश सभामा पाण्डेले विश्वासको मत प्राप्त गर्न ३१ मत आवश्यक पर्थ्यो भने सोहीअनुसार उनले मत पाए । देवकोटा मुख्यमन्त्रीको पक्षमा मतदान गर्न गएपछि एमाले र माओवादीका सांसदले नाराबाजी समेत गरेका थिए ।