जनता टाइम्स

२९ जेष्ठ २०८१, मंगलवार १५:५९

युरोप पठाउने भन्दै सामाजिक सञ्जालमा आकर्षक बिज्ञापन, ३ सय युवाबाट १५ करोड बढी रकम ठगी


काठमाडौं, जेठ २९ । सिधासाधा युवाहरुलाई वैदेशिक रोजगारी पठाइदिने भन्दै बहानामा १५ करोड रुपैयाभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चितवनको भरतपुर महानगरपालिका–१८ निवासी राजकुमार भट्ट र कास्कीको पोखरा महानगरपालिका ८ निवासी पवन पन्तलाई १५करोड बढी ठगी अभियोगमा पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईका अनुसार आरोपी भट्ट र पन्तले ३/४ वर्षदेखि ३ सय भन्दा बढी युवालाई वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै १५ करोड रकम ठगी गरेको पाइएको छ । पन्त र भट्टले कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्सलगायतका मुलुकमा पठाई दिने बताएर तीन सयभन्दा बढी व्यक्तिबाट करिब १५ करोड रकम ठगी गरेको एसएसपी भट्टराईको भनाई छ ।

उहाँका अनुसार पक्राउ परेका दुवै जनाले फेसबुक, म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै आकर्षक तलब, भत्तासहितको विज्ञापन सार्वजनिक गरी सम्पर्कमा आउने व्यक्तिलाई विभिन्न व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेको पाइएको छ । जम्मा भएको रकम चेकमार्फत निकाल्न लगाएर उनीहरूले भने बमोजिमका व्यक्तिलाई भेटेर नगदै दिन लगाउने र विभिन्न खातामा कारोबार गराएर ठगी गर्ने गरेका थिए ।