जनकपुर, जेठ २९ । मधेस सरकारले अगामी आर्थिक वर्षमा ‘हात हातमा सवारी घर घरमा रोजगारी’ भन्ने मूल नाराका साथ रोजगार कार्यक्रम सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपाबाट पहिलो पटक अन्य दलमा सरकारको नेतृत्व सरेलगत्तै मधेस सरकारले जनताको पक्षमा काम गर्ने अठोटसहित यस्तो कार्यक्रम ल्याएको हो । मंगलबार प्रदेशसभामा सरकारका तर्फबाट प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रस्तुत गर्नुभएको अगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा यस्तो कार्यक्रम ल्याउने घोषणा गरिएको छ ।
मधेस सरकारको नीति तथा कार्यक्रममा प्रदेश समृद्धिका लागि ठुलो सङ्ख्यामा पर्यटक भित्र्याउने योजना पनि समेटिएको छ । यसका साथै जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्न पहल गरिने कार्यक्रम ल्याइएको छ ।
मधेस सरकारले नीति तथा कार्यक्रममा सहिद राम मनोहर यादवको पार्क निर्माण गर्ने घोषणा पनि गरेको छ । नीति तथा कार्यक्रममा कृषि बालीमा चक्लाबन्दी व्यवस्था लागु गर्ने र कृषिलाई यान्त्रिकीकरण गर्ने एवं कृषि समूहलाई प्रोत्साहन गर्ने नीति लिने उल्लेख छ ।
कुल २२५ बुँदे नीति तथा कार्यक्रममा कृषि, सिँचाइ, खानेपानी, मल, सडक, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ । यसैगरी नीति तथा कार्यक्रममा सरकारले प्रदेशभित्रका बेरोजगार युवाहरुलाई रोजगार वा स्वरोजगारका अवसर प्रदान गर्नका लागि मुख्यमन्त्री (सि.एम.) रोजगार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
’वैदेशिक रोजगारी माथिको परनिरभर्ता न्यूनीकरणका लागि प्रदेश भित्र आर्थिक वस्तुगत÷प्राविधिक अनुदानसहितको ‘स्टार्टअप सहयोग’ र ‘गरि खाने अभियान’ कार्यक्रम सञ्चालन गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ ।
यस्तै विदेश जाने कामदारलाई माग अनुसारका सिप तालिमको व्यवस्था गरिने पनि सरकारको योजना अघि सारेको छ । प्रदेशका सबै स्थानीय तहहरुमा रहेका रोजगार सेवा केन्द्रहरुको क्षमता विकास गरि सघन सहकार्य गरिने जनाएको छ ।
यस्तै, प्रदेश भित्रका रोजगार क्षेत्रमा देखिएका मनोसामाजिक समस्याहरु न्यूनीकरण गर्न मनोपरामर्श सेवाकर्मिहरुको प्रवर्द्धन गरिनेछ तथा स्थानीय तहको मागको अधारमा स्थानीय तहमा सिप विकास तालिमको सञ्चालन र व्यवस्थापन गरिने पनि सरकारले नीति लिएको छ ।
यसैगरी वैदेशिक रोजगारबाट सिप सिकेर फर्केका जनशक्तिको रोस्टर निर्माण गरी श्रम बैंकको रुपमा परिचालन गर्दै सिपलाई रोजगारसँग जोडने योजना ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्