जनता टाइम्स

३० जेष्ठ २०८१, बुधबार ०२:४१

माधव-झलनाथ दुवैले देखाइदिन्छु भनेपछि


काठमाडौं, जेठ ३० । नेकपा माले कालदेखि चीरपरिचित प्रतिद्वन्द्धीका रुपमा कहलिएका दुई कम्युनिष्ट नेता फेरि पदीय लडाईका लागि आमने सामने भएका छन ।

चार दशकयता पटकपटक पार्टी र सरकारको नेतृत्व तहमा रहेर एकछत्र राज गर्नुभएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल नेकपा एमाले फुटाएर बनेको पार्टीको पहिलो महाधिवेशनमै आमने सामने हुन लाग्नुभएको हो ।

एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गरी अध्यक्ष र सम्मानित नेताको हैसियतमा रहनुभएका नेपाल र खनाल पार्टी अध्यक्ष बन्न एकअर्काबिरुद्ध लाग्नुभएको हो । आगामी असार १६ देखि काठमाडौंमा हुन लागेको नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा दुवै नेताले अध्यक्षमा दावी गर्नुभएको छ । २०५० साल जेठदेखि एमालेमा १५ बर्ष एकछत्र राज गर्नुभएका नेपाल यसपटक आफैले गठन गरेको पार्टीमा खनाललाई २०६५ सालमा पराजीत हुनुपरेको बदला लिएर पार्टी कब्जा गर्ने योजनामा लाग्नुभएको छ भने खनाल नेपाललाई फालेर नेतृत्व लिने योजनाका साथ अभियानमा जुटनुभएको छ ।

समाजवादीको वर्तमान अध्यक्ष रहनुभएका नेपाल पूर्ववर्ती पार्टी एमालेमा तीन पटक महासचिव (२०५० मदन भण्डारीको निधनपछि, २०५४, २०५९) र २०६५ मा वरिष्ठ नेता हुनुहुन्थ्यो । उहाँ २०६६ मा प्रधानमन्त्री हुनुभयो । यस्तै खनाल पञ्चायतकालमा २०३९ मा नेकपा मालेको महासचिव र २०६५ मा एमालेको अध्यक्ष हुनुभयो । खनाल पनि एक पटक प्रधानमन्त्री (२०७६) बन्नुभयो ।

एमालेबाट पार्टी र सरकार प्रमुख बन्नुभएका दुवै नेता समकालिन नेता केपी शर्मा ओली चुनाव जितेर अध्यक्ष बन्नुभएपछि एक कार्यकाल पनि कुर्न नसकेर पार्टी नै बिभाजन गरी हिडनुभयो । एमालेमा रहँदा दुवै नेता निरन्तर पार्टी र राज्यशक्तिमा रहनुभएको थियो । पार्टी बिभाजनपछि पनि पहिलो महाधिवेशनमै पदका लागि आमने सामने हुनुभएको छ ।

२०५० साल जेठदेखि एमालेमा १५ बर्ष एकछत्र राज गर्नुभएका नेपाल यसपटक आफैले गठन गरेको पार्टीमा खनाललाई २०६५ सालमा पराजीत हुनुपरेको बदला लिएर पार्टी कब्जा गर्ने योजनामा लाग्नुभएको छ भने खनाल नेपाललाई फालेर नेतृत्व लिने योजनाका साथ अभियानमा जुटनुभएको छ 

एमालेबाट २०७८ मा अलग भई एकीकृत समाजवादी गठन गरेपछि अध्यक्ष र सम्मानित नेता रहेका नेपाल र खनाल आगामी महाधिवेशनमा अध्यक्षको आकांक्षी देखिएपछि महासचिव घनश्याम भुसाललगायत दोस्रो पुस्ताका नेता हस्तक्षेप गर्ने बताइरहनु भएको छ । एमालेबाट विद्रोह गरेको भने पनि आफ्नो सवै सिद्धान्त र आदर्शको दाहसंस्कार गर्नुभएका नेपाल र खनाल पार्टी निर्माणभन्दा शक्ति प्राप्तिको लडाइँमा लागेको भन्दै युवा पुस्ताले नेतृत्वमा हस्तक्षेप गर्ने तयारी थालेका हुन ।

यद्यपी दोस्रो पुस्ताको हस्तक्षेप भाषणमै सिमित रहने अवस्था देखिएको छ । दुई नेताको नाम भजाएर आफू अध्यक्ष बन्ने दाउमा महासचिव भुसाल रहनुभएको छ । तर उहाँको पक्षमा मुस्किलले १० प्रतिशत पनि कार्यकर्ता छैनन । नेकपा एसका एक पदाधिकारीले जनताटाइम्स डटकमलाई दिएको जानकारी अनुसार अध्यक्षको दावेदारीले दुवै नेताबीच यति धेरै दूरी बढेको छ कि दुवै नेताले एकले अर्कालाई सकाउने अभियानसमेत थालेका छन ।

माधवले आफूले बनाएको साम्राज्यमा भलनाथले धावा बोलेको भन्दै देखाइ दिने बताउने गर्नुभएको छ भने खनाल पनि माधवमाथि खनिन थाल्नुभएको छ । अध्यक्षको दावीले दुवै नेताले आफू निकटको बैठकमा नामै किटेर त्यो…सम्म भन्न थाल्नुभएको ती नेताले जानकारी दिए ।