जनता टाइम्स

३० जेष्ठ २०८१, बुधबार १७:०१

कुवेतको आवासीय भवनमा आगलागी, कम्तिमा ४० जनाको मृत्यु


कुवेत, ३० जेठ । कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । आज बिहान एक बहुतले भवनमा आगलागी भएको हो । भवनको झ्यालबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्थ्यो । यो भवनमा अधिकांश प्रवासी मजदुरहरू बस्छन् । रिपोर्टका अनुसार मृत्यु हुनेमा ५ भारतीय नागरिक पनि छन् । भारतीय राजदूत पनि घटनास्थल पुग्नुभएको छ ।

भारतीय दूतावासले पीडित परिवारलाई सहयोग गर्न हेल्पलाइन नम्बर पनि जारी गरेको छ । कुवेतका गृहमन्त्री फहाद युसुफ अल सबाहले घटनास्थलको भ्रमण गर्नुभएको छ ।

कुवेती सञ्चारमाध्यमका अनुसार उक्त भवनमा क्षमताभन्दा धेरै मानिस बस्दै आएका थिए । गृहमन्त्रीले सम्पत्ति ऐन उल्लङ्घनका विषयमा छानबिन गरिने बताउनुभएको थियो । कुवेतको जनसङ्ख्याको दुई तिहाइ आप्रवासी कामदारहरू छन् । यो देश विशेषगरी निर्माण र स्वदेशी क्षेत्रमा विदेशी कामदारमा निर्भर छ । मानव अधिकार समूहहरूले कुवेतमा प्रवासीहरूको जीवनस्तरमाथि धेरै पटक प्रश्न उठाएका छन् ।