जनता टाइम्स

३१ जेष्ठ २०८१, बिहीबार १५:०४

जसपाको महाधिवेशन नाटकमै सिमित, चुनावी प्रक्रिया खारेज गरी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म आफै तोक्दै अध्यक्ष यादव


जनकपुर, जेठ ३१ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनका नेतृत्व चयनका लागि अघि बढाइएको निर्वाचन प्रक्रिया स्थगित भएको छ ।

महाधिवेशनमा एकल उम्मेदवारी दर्ता गराएर निर्बिरोध हुनुभएका अध्यक्ष यादवले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सवै आफैले तोक्ने गरी सहमतिको बहानामा निर्वाचन प्रक्रिया नै स्थगित गर्नुभएको हो ।

जसपाको महाधिवेशनमा बुधवार उम्मेदवारी मनोनयन भएको थियो । सो क्रममा अध्यक्षमा यादवको एकल उम्मेदवारी दर्ता भएको थियो भने सहअध्यक्षसहित पदाधिकारी र सदस्यमा धेरै आकांक्षीले उम्मेदवारी मनोनयन गरेका थिए । तर यादवले आज आफै पदाधिकारीदेखि सदस्यसम्म तोक्ने योजनासहित चुनावबाट नगरी सहमतीय आधारमा चयन गर्ने भन्दै रोक्नु भएको हो ।

यादवको यो घोषणासँगै आज अपरान्हबाट हुन लागेको मतदान रोकिएको छ । जसपा महाधिवेशनमा आज मध्यान्ह चुनाव गर्ने कार्यतालिका तय गरिएको थियो । निर्वाचनका लागि बुधबार १९ पदाधिकारीका लागि तोकिएको समयभित्र ७५ जनाको उम्मेदवारी मनोनयन भएको थियो । जसपा नेपालको महाधिवेशनमा ११३५ जना प्रतिनिधि रहेका छन ।

महाधिवेशनमा मतदानका लागि तोकिएको समयभन्दा केहीबेरअघि अध्यक्ष यादवले चुनावी प्रक्रिया स्थगित गरी सहमतीय आधारमा नेतृत्व चयन गर्ने घोषणासहित सवै प्रक्रिया स्थगित गराउनु भएको हो । जसपामा १९ पदाधिकारीसहित २०१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।