काठमाडौं, जेठ ३२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उदघाटन गर्नुभएको छ । नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको कार्यक्रममा प्रधानन्त्रीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा ४०० केभी निर्मित सो सबस्टेसन उदघाटन गर्नुभएको हो ।
ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज) मा ल्याइएको छ ।
यसैगरी, नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्याङमानै २२० र १३२ः११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि नै चार्ज गरिएको छ ।
पूर्व–पश्चिम विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौंडा तेस्रो ठूलो सबस्टेसन हो । हेटौंडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब ४ हजार मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार संरचना तयार भएको छ ।
हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम ४ हजार मेगावाट विद्युत प्रवाह गर्न सकिने हुँदा आन्तरिक रुपमा विद्युत आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत व्यापार थप विस्तार हुनेछ ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौंडा सबस्टेसनमा ल्याएर जोडिने छ । यसका लागि हेटौंडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको छ ।
राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटौंडा, ढल्केबर इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजना सुरु गरिएको थियो। आयोजनाअन्तर्गतका तीन वटै सबस्टेसनको निर्माण सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्