जनता टाइम्स

१ असार २०८१, शनिबार १६:४९

एमाले नेता–कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन : प्रतिक्रियावादीलाई जस्ताको तस्तै जवाफ दिनोस


काठमाडौं, असार १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले पार्टीविरुद्ध भ्रमको तुवाँलो तीव्र रुपमा फैलाएको भन्दै प्रतिवाद गर्न निर्देशन दिनुभएको छ ।

एमाले संसदीय दलको आज बसेको बैठकलाई सम्बोधन गर्दै दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले यस्तो बिरोधीलाई जस्ताको तस्तै जवाफ दिन निर्देशन दिनुभएको हो ।

अध्यक्ष ओली एमालेलाई कमजोर पार्नकै लागि हुँदै नभएको अफवाह समेत फैलाउने काम भएको तथ्य राख्नुभयो । बिरोधीले केही नलागेपछि आफैले (केपी ओली) ५ अर्ब खाइसक्यो भनेर अफवाह फिँजाएको बताउनु भयो ।

‘हाम्रो पार्टी एमालेविरुद्ध तीव्र ढंगले दिनैपिच्छे नयाँ–नयाँ अकल्पनीय कुराहरू आविष्कार गरेर बजारमा भ्रमको प्रचार (अफवाह पैलाउने काम) भइरहेको छ । आज बिहान पनि मैले एउटा मिडियामा देखेको थिएँ, ५ अर्ब केपी ओलीले खाइसक्यो, निलिसक्यो कि ?, मुखमा मात्र हाल्या छ कि ?, ठिक्क पारेको छ कि ?, ४ अर्ब कि ५ अर्ब केपी ओलीले खाने भो, खायो भनेर हल्ला फैलाउने काम गरेको पाइयो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रा विरोधीहरू, प्रतिक्रियावादीहरू जो देश अगाडि नबढोस भन्ने चाहन्छन्, राष्ट्रिय शक्तिलाई कमजोर बनाउन चाहन्छन्, त्यसमा उनीहरूको अर्को कुनै उपाय छैन । यस्तालाई हामीले पनि जस्ताको तस्तै जवाफ दिन पछि पर्नुहुँदैन ।’

उहाँले एमालेपंक्ति गलत कुराको वकालत नगर्ने र जनतालाई भ्रमित पार्ने काम नगर्न भएपनि अफवाह चिर्न लाग्नुपर्नेमा जोड दिनुभयो । ‘प्रतिक्रियावादी शक्तिहरू जस्तो विचार शून्य, नीति शून्य, उद्देश्य शून्य, स्वार्थका थैलाहरू बोकेर ती थैलाहरू भर्न असभ्य, अमर्यादित, अलोकतान्त्रिक तरिकाहरू अवलम्बन गर्ने, त्यस्ता खालका भ्रमका तुवाँलाहरू फैलाउने खालका विपरीत क्रियाकलापहरूमा हामी लाग्दैनौं, तर हामीले भ्रमको खण्डन गर्नु परिहाल्छ, गर्नुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले नागरिकता नेपाली नै भएपनि कतिपय मानिस देशको हितमा सोच्दै नसोच्ने अवस्था रहेको बताउनु भयो । ‘कतिपय मान्छे देश बुझ्दैनन, भातमात्रै बुझ्छन । भात भए देश जेसुकै होस् भन्ने ठान्छन् । तिनीहरूमा सोच पुर्याउने काम पनि हाम्रो हो,’ ओलीको भनाई थियो ।