जनता टाइम्स

२ असार २०८१, आईतवार १०:२०

रीतबहादुर खड्कालाई संझदै निकै भावुक बने प्रधानमन्त्री दाहाल


काठमाडौं, असार २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धकालमा हत्या भएका नेता रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता भएको बताउनु भएको छ ।

शहीद रीतबहादुर खड्काको स्मृति दिवसका अवसरमा आज माओवादी केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले खड्काले छोटो समयमा राम्रो प्रगति गरेको र प्रेरणादायी नेता रहेको बताउनु भयो ।

‘रीतबहादुर खड्का क्रान्तिकारी-गतिशील र सवैका लागि प्रेरणादायी नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो,’ माओवादी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो । उहाँको शहादतबाटअपूरणीय क्षति भयो ।’

शहीद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले उहाँलाई देश र पार्टीले सधैँ स्मरण गरिरहने बताउनु भयो । कार्यक्रममा माओवादी नेतृ तथा खडकाकी बहिनी देवी खडकाले उहाँजस्तो असल नेता बिरलै पाइएको बताउनु भयो ।

सम्बोधनको क्रममा रीतबहादुर खड्कालाई संझदै प्रधानमन्त्री दाहाल निकै भावुक बन्नुभयो । खडका क्रान्तिकारी(गतिशील र सवैका लागि प्रेरणादायी नेता रहेको भन्दै प्रधानमन्त्री दाहाल भावुक बन्नुभएको थियो ।

तात्कालिन माओवादीका प्रभावशाली एवं बैचारिक नेता रितबहादुरको २०५९ साल असार २ गते रौतहटमा तात्कालिन शाही नेपाली सेनाबाट गोली हानी हात्या गरिएको थियो । जनयुद्धकालमा प्रताप उपनामबाट चर्चित खडकाको हत्यामा माओवादीकै नेताहरुको संलग्नता रहेको आशंका परिवारका सदस्यले गरेका छन ।