जनता टाइम्स

२ असार २०८१, आईतवार १४:५२

एमाले–कांग्रेसका जनप्रतिनिधिले बैठक बहिष्कार गरेपछि आक्रोशित बने मेयर बालेन


काठमाडौं, असार २ । काठमाडौं महानगरपालिकाको कार्यपालिका सदस्यहरूले बहिष्कार गरेपछि नगर सभाको बैठक स्थगित भएको छ । आज बसेको कार्यपालिका बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि नगरसभाको १५ औँ बैठक स्थगित भएको हो ।

कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरेपछि मेयर बालेन्द्र शाह (बालेन) ले आगामी असार १० गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनु भएको छ । आइतबारको बैठक सुरु हुनासाथ मेयर शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे बोल्न चाहनेलाई ५ मिनेटको समय दिए लगत्तै कार्यपालिका सदस्यहरू बैठक छाडेर हिँडेका थिए ।

बैठक स्थगित भएपछि मेयर शाहले आक्रोशित हुँदै सामाजिक सञ्जालबाट कांग्रेस–एमालेको धङधङी बोकेर नगरसभा बैठकमा नआउन चेतावनी दिनुभएको छ । नगरसभा स्थगित भएपछि मेयर शाहले आक्रोशसमेत पोख्नुभएको छ । मेयर साहले वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिनुभएको थियो ।

न्यूरोडलाई नो भेइकल जोन बनाउने प्रस्ताव मेयर शाहले नगरसभामा पारित गराउन खोजेको भन्दै असन्टुष्टि जनाएर केही कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेका थिए । मेयर साहले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको आरोप लगाउनु भएको छ । काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने बताउँदै उहाँले जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुने बताउनु भयो ।

‘यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ । नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन,’ शाहले लेख्नुभएको छ ।