जनता टाइम्स

२ असार २०८१, आईतवार २३:२६

नक्कली लाइसेन्स प्रकरणमा संलग्नता भेटिएपछि पक्राउ परे उपसचिवसहित पाँच सरकारी कर्मचारी


काठमाडौं, असार २ । नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणमा उपसचिव पक्राउ परेका छन ।

नक्कली लाइसेन्स प्रकरणमा छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख उपसचिव केशव अर्यालसहित ५ जनालाई पक्राउ गरेको हो ।

स्याङ्जाको चापाकोट–९ फुलबारी निवासी उपसचिव अर्यालले नक्कली लाइसेन्स बितरणमा मुख्य भूमिका खेलेको पाइएको प्रहरीले जनाएको छ । सीआईबीले पाल्पा तानसेन नगरपालिका–३ का पदम राज आचार्यलाई पनि पक्राउ गरेको छ । उनी हाल यातायात व्यवस्था कार्यालय, नवलपरासीका कम्प्युटर अपरेटर हुन् ।

त्यस्तै, यातायात व्यवस्था कार्यालयका तत्कालीन शाखा अधिकृत पाल्पाको तानसेन निवासी सुवास पौडेल, यातायात व्यवस्था कार्यालय जनकपुरका सहायक कम्प्युटर अपरेटर दिलिपकुमार शाह र यातायात व्यवस्था कार्यालय चितवनका सहायक कम्प्युटर अपरेटर राजेश लम्साललाई पनि पक्राउ गरिएको छ ।

उनीहरुले फर्जी विवरणहरु ईन्ट्री गरी सोका आधारमा गैरकानूनी तवरले सवारीचालक अनुमतिपत्र जारी गरेको पाइएको सीआईबीले जनाएको छ । सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले दिनुभएको जानकारी अनुसार पक्राउ परेका उपसचिव अर्यालसहित पाँचै जनाविरुद्ध लिखत सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप भइ अनुसन्धान अगाडि बढाइएको छ ।