काठमाडौं, असार ४ । सार्वजनिक बिद्यालयमा अध्यापनरत २० जना शिक्षकले जागिर त्यागेका छन । शिक्षा मन्त्रालयले राजनीतिक दलको सदस्यता त्याग गर्न निर्देशन दिएपछि २० जना शिक्षकहरु जागिर त्यागेर राजनीतिमा लागेका हुन ।
शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकहरुलाई दलको आबद्धता छाड्न देशभर सर्कुलर गरेपछि २० जनाले जागिर त्यागेका हुन । मन्त्रालयका अनुसार निर्देशनअनुसार ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्याग गरेको छन ।
मन्त्रालयले २० जना शिक्षक भने राजीनामा दिएर राजनीतिमा लागेको जनाएको छ । राजीनामा दिनेमा पार्टीको कार्यकारी भूमिका बसेका शिक्षकहरु रहेका छन । सरकारले नीति तथा कार्यक्रममा पनि शिक्षकलाई दलीय आबद्धता मुक्त गराउने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्ने घोषणा गरेको थियो ।
शिक्षामन्त्री सुमना श्रेष्ठले कार्यकालको एक सय दिनको कार्य विवरण सार्वजनिक गर्दै शिक्षकहरुलाई राजनीतिबाट निरुत्साहित गर्ने आफ्नो प्राथमिकता प्रतिबद्धता दोहोर्याउनु भयो । शिक्षामा दलीय राजनीतिकरण हुन नहुने विषयमा अन्तिम साससम्म नछाड्ने एजेन्डा आफ्नो रहने पनि उहाँको भनाई छ । राजनीतिमा आबद्ध भएका ४५ शिक्षकविरुद्ध उजुरी प्राप्त भएको र ती मध्ये ४१ जना सँग स्पष्टीकरण सोधिएको तथा ४ जनाले सफाई पाएको मन्त्रालयले जनाएको छ ।
मन्त्री श्रेष्ठले काजमा गएका कर्मचारीको तथ्यांक नरहेको र पालिकामा समेत शिक्षकहरूलाई राखिएको अवस्थामा त्यसलाई व्यवस्थित पार्ने काम सुरु गरिएको बताउनु भयो । उहाँका अनुसार शिक्षा सेवा नियमावली अन्तिम चरणमा पुगेको, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन खोजिएको छ ।
मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको सुधारका लागि गरिएका अध्ययन प्रतिवेदनको अध्ययन गर्ने र सकारात्मक सुधारका सुझावलाई ग्रहण गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्