काठमाडौं, असार ५ । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) पदका लागि १७ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेठ २२ गते खुलाएको दरखास्त आह्वानको अन्तिम दिन मंगलबारसम्म टेलिकमको एमडीका लागि १७ जनाले आवेदन बुझाएको सञ्चार मन्त्रालयले जनाएको छ ।
नेपाल टेलिकमका तत्कालीन एमडी सुनील पौडेल गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा पक्राउ परेपछि गत माघदेखि टेलिकम निमित्तको भरमा चलेको छ । टेलिकममा निमित्त प्रबन्ध निर्देशकका रूपमा संगीता पहाडी अर्यालले कार्यभार सम्हालिरहनु भएको छ । ६ महिनादेखि निमित्तको भरमा चलेको टेलिकममा सरकारले नयाँ एमडी नियुक्तिको प्रक्रिया अघि बढाएको हो ।
सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार आवेदन दिएका १७ जनाको योग्यता हेरेर योग्यता पुगेकाको दरखास्त स्वीकृत गरिनेछ । त्यसपछि उहाँहरूको कार्ययोजना हेरेर अन्तरवार्ताका लागि बोलाउने ठाकुरले बताउनु भयो । प्रबन्ध निर्देशक बन्न टेलिकमकी निमित्त प्रबन्ध निर्देशक पहाडीसँगै टेलिकमकै विमल आचार्य, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, प्रेमप्रसाद सिलवाल, कृष्णप्रसाद भण्डारी, लक्ष्मण महर्जन, सुवास साह, शालिकराम सुवेदी, कमल लामिछाने, केदारनाथ कोइराला, शालिग्राम पराजुली र बुद्धिप्रसाद आचार्यले आवेदन दिनुभएको छ ।
टेलिकमबाहिरका चिन्तामणि बराल, अनिलकुमार झा, नागेन्द्रकुमार दास र रमेशप्रसाद जोशीले पनि टेलिकमको नेतृत्वका लागि आवेदन दिनुभएको छ । ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका, ०८०’ अनुसार सञ्चार मन्त्रालयले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा प्रबन्ध निर्देशकका लागि नाम सिफारिस गर्न एक छनोट समिति गठन गर्नुपर्छ ।
सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा हुने समितिमा मन्त्रालयकै सहसचिव र दूरसञ्चार वा सूचना प्रविधि वा वित्तीय, लेखा वा सार्वजनिक व्यवस्थापनसम्बन्धी क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त व्यक्ति विज्ञ सदस्यका रूपमा रहनेछन् । दरखास्त माग गर्नुअघि सञ्चार मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका संशोधन गर्दै उमेर हद, शैक्षिक योग्यता, कार्य अनुभव र पद रिक्त हुने अवस्थासम्बन्धी प्रावधान थपघट गरेको थियो ।
एमडी नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका संशोधन गरी मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न ३५ वर्ष पूरा भई ५८ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरेको छ । अघिल्लो निर्देशिकामा एमडी पदका लागि आवेदन दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ५६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख थियो । निर्देशिकाअनुसार छनोट समितिले तीन जना उम्मेदवारको नाम सर्टलिस्ट गरी मन्त्रालयसमक्ष सिफारिस गर्नेछ । तीनमध्ये एकलाई मन्त्रिपरिषद्ले प्रबन्ध निर्देशक नियुक्त गर्ने प्रावधान छ ।
प्रबन्ध निर्देशकको सेवा अवधि चार वर्षको हुन्छ । मासिक दुई लाख ५० हजार रुपैयाँ पारिश्रमिक हुनुका साथै एमडीले घरभाडाबापत मासिक ६० हजार रुपैयाँ, काठमाडौंमा घर भए १ वर्षमा १ महिनाको मासिक पारिश्रमिक बराबर घर मर्मत खर्च, चाडपर्व खर्च, अतिथि सत्कार खर्च, यातायात सुविधा, वार्षिक १० लाख रुपैयाँको दुर्घटना बिमा, ५ लाख रुपैयाँको औषधि उपचार बिमालगायत सेवा सुविधा हुन्छ । सोही कारण टेलिकमको प्रबन्ध निर्देशक आकर्षक मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्