काठमाडौं, असार ५ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौंका मेयर बालेन शाहको घर अगाडि कवाडी थुपार्नुपर्ने भन्दैअराजक अभिब्यक्ति दिनुभएको छ ।
संसद बैठकमा बोल्दै कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिका र महानगरपालिकाका मेयर शाहले दुःख दिएको भन्दै उहाँकै घरअगाडि कवाडी थुपार्नुपर्ने बताउनु भएको हो । बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले महानगरका मेयरकै शैलीमा सबै कबाडी र फोहोर बालेन शाहको घर अगाडि थुपार्न आग्रह गर्नुभयो ।
‘बालेन जी, यहीँको मेयरले सिकाएको छ कि, यदि काम भएन भने त्यहाँ नै फोहोर थुपार्ने । म यही संसद्मार्फत तमाम कबाड व्यवसायीहरूलाई आग्रह गर्न चाहन्छु– सबै फोहोर महानगरपालिका र बालेन शाहको घरको अगाडि थुपारौं, त्यसको लागि हामी साथमा छौं,’ सांसद सिंहले भन्नुभयो । यस्तो महानगरका मेयर शाहले नै सिकाएको उहाँको भनाई छ ‘टिट फर ट्याट । उहाँले नै यो सिकाएको हो,’ उहाँले भन्नुभयो । यसअघि महानगरपालिकाले सडक विभाग अगाडि फोहोर थुपारिदिएको थियो ।
महानगरका मेयर शाहलाई उहाँले पपुलिजमको समेत संज्ञा दिनुभयो । ‘पपुलिज्मको नाममा दुनियाँमा तानाशाही जन्मिएको छ । हिटलर पनि निर्वाचित भएर आएका थिए,’ सिंहले भन्नुभयो, ‘तर हिटलरको कारणले जर्मनीको के हाल भएको थियो ?’ पपुलिजमको अवस्थामा मेयर शाहले समर्थन पाइरहेको पनि उहाँको भनाई छ ।
‘आज पपुलिजमको अवस्थामा हामी ताली बजाइरहेका छौं । बालेनले पनि नेपाललाई जर्मनी बनाउन खोजेको हो । विभेदमा चल्न खोजेको हो । पपुलिजमको आडमा न्याय समाप्त गर्न खोजेको हो,’ सिंहले भन्नुभयो । नेपाल न्यायको भूमि रहेको र हाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अभ्यासमा रहेको उल्लेख गर्दै मेयर शाहको शैली अराजक रहेको बताउनु भयो ।
‘गणतन्त्रमा एउटा गरिब, निर्धाले पनि कानुनी राज्यको महसुस गर्न पाउनुपर्छ,’ सिंहले भन्नुभयो । उहाँले कबाड व्यवसायीहरूले निर्वाध व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै मंगलबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीले दमन गरेको भन्दै सिंहले विरोध पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्