जनता टाइम्स

६ असार २०८१, बिहीबार २१:३२

एमाले-माओवादी र रास्वपाबीच राजदूतमा मिल्यो भागबण्डा, कुन दलको भागमा कति ?


काठमाडौं, असार ६ । सत्तारुढ प्रमुख तीन दलबीच राजदूतको भागबण्डा टुंगो लागेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवामा आज साँझ बसेको तीन दलका शीर्ष नेताको बैठकले राजदूतको भागबण्डा टुंग्याएको हो ।

आज साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच लामो छलफल भएको थियो । सो छलफलले हाल खाली रहेको ११ देशको राजदूतमा सहमति जुटाएको हो ।

गत जेठ २४ गते बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो । सो स्थानमा पठाउने नयाँ राजदूतका लागि तीन दलबीच सहमति भएको हो । जसअनुसार एमालेले आठ देशको राजदूत पाउने समझदारी भएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत लिने गरी सहमति जुटाइएको हो ।

राजदूत फिर्ता बोलाउँदा माओवादी केन्द्रको कोटामा राजदूत बनेकाहरु फिर्ता नबोलाएका कारण एक जना थप गरिएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका राजदूतहरुलाई त्यसपछि कांग्रेस नेतृत्वको गठबन्धन सरकारले फिर्ता बोलाएको थियो ।

सोही परम्परालाई कायम राखी अहिले पनि कांग्रेससहित सरकारमा नरहेका अन्य दलका राजदूत फिर्ता बोलाएपछि एमालेलाई प्राथमिकतामा राखेर भागबण्डा टुंग्याइएको हो । बैठकमा सहमतिबाट बजेट पास गर्ने, शीर्ष नेताबीच उत्पन्न भएका मनोमालिन्य छलफल गरेर टुंग्याउने, गठबन्धन अझै कसिलो बनाउँदै जाने निर्णय पनि भएको छ ।