जनता टाइम्स

७ असार २०८१, शुक्रबार ०९:०१

जेल चलान भए पशुपतिनाथ मन्दिरबाट भेटी चोरीको अभियोगमा पक्राउ परेका ५ अभियुक्त


काठमाडौं, असार ७ । पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्ने ५ जनालाई थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंले बिहीवार पशुपति मन्दिरमा भेटी चोरेको अभियोगमा पक्राउ परेका ६ जनामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश गरेको हो । न्यायाधीश कपिलमणि गौतमको इजलासले उक्त अभियोगमा पक्राउ परेकामध्ये एक जना सत्यनारायण जोशीलाई धरौटीमा रिहा गर्दै अन्य पाँच जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

गत जेठ ७ गते पशुपतिनाथमा भेटी गणनाका क्रममा चोरी गरेको सीसीटीभी फुटेजमा देखिएपछि विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, सञ्जय कपाली, कुमार दमाईं र अनिल परियारलाई पक्राउ गरिएको थियो ।

उक्त प्रकरणमा सत्यनारायण जोशीलाई भने सोधपुछका लागि भन्दै केही दिन ढिला प्रहरीले पक्राउ गरेको थियो । पशुपतिनाथ मन्दिरको भेटी चोरी गरेको खुलेसँगै प्रहरीवृत्त गौशालाले प्रतिवादीलाई हिरासतमा राखेर अनुसन्धान गरिसकेपछि मुद्दा अदालतमा पेस गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका छ जनाविरुद्ध रु दुई करोड ३० लाख १० हजार बिगो माग दाबी गरेर मुद्दा दायर गरेको छ ।