जनता टाइम्स

८ असार २०८१, शनिबार ०५:४३

जेलमुक्त हुने माओवादी नेता कालीबहादुर खामको योजना चकनाचुर, उच्च अदालतले गर्यो जिल्लाकै फैसला सदर


मकवानपुर, असार ८ । उच्च अदालत पाटन हेटौँडा इजलासले माओवादी नेता कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

न्यायाधीशद्वय शान्ता सेढाई सापकोटा र मेरिना श्रेष्ठको संयुक्त इजलासले शुक्रवार कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत चितवनको आदेशलाई सदर गर्दै पुर्पक्षमा राख्न आदेश गरेको हो गत चैत २० गते काठमाडौंबाट पक्राउ परेका खामलाई जिल्ला अदालत चितवनले चैत २३ गते पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो ।

उक्त आदेश बदरको माग गर्दै खामका कानून ब्यवसायीले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । सो मुद्दामा उच्च अदालत पाटन हेटौँडा इजलासले खामलाई थुनामा नै राख्न आदेश गरेको हो ।

तात्कालिन नेकपा माओवादीको जनमुक्ति सेनाका पूर्वकमाण्डर खाममाथि कोटेश्वर बस्ने रामहरि श्रेष्ठको हत्या गरेको आरोप छ । २०६५ वैशाख २८ मा नारायणी नदीमा श्रेष्ठको शव भेटिएको थियो । चितवनको शक्ति खोरमा जनमुक्ति सेना ‘तेस्रो डिभिजन’का कमान्डर खामको सम्पर्क कार्यालय कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमा भाडामा राखिएको थियो ।

सम्पर्क कार्यालयबाट २०६४ चैत १४ मा हतियार र १७ लाख रुपैयाँ नगद चोरी भएको विषयमा छानबिनको नाममा श्रेष्ठको हत्या भएको प्रहरीले अनुसन्धान निष्कर्ष निकालेको थियो । माओवादी लडाकुहरूले २०६५ वैशाख १५ मा श्रेष्ठलाई कोटेश्वरबाट शक्ति खोरमा लगेर थुनामा राखी यातना दिएको पीडित परिवारको आरोप छ ।

नारायणीमा शव भेटिएपछि श्रेष्ठकी पत्नी रमिलाले आफ्ना पतिको अपहरणपछि हत्या गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । खाम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् । उच्च अदालतको यो आदेशपछि जेलबाट निस्कने खामको योजना सकिएको छ ।