काठमाडौं, असार ८ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेभित्र कुनै गुट–उपगुट नभएको प्रष्ट पार्नुभएको छ ।
नेकपा एमाले मकवानपुरले आज हेटौंडामा आयोजना गरेको कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले नेकपा एमाले नेतृत्व र विचारमा एकमत रहेको बताउनु भयो । केन्द्रमा पार्टीको कुनै गुट–उपगुट नभएकोले जिल्लामा अमुक नेताको नाम लिएर गुट उपगुटको कुरा नगर्न उहाँले आग्रह गर्नुभयो ।
उपमहासचिव ज्ञवालीले अधिवेशनको बेलामा प्रतिस्पर्धा हुने भएपनि अधिवेशन सकिने बित्तिकै पार्टी निर्माणको काममा सबै एक हुनुपर्ने स्पष्ट पार्नुभयो । अधिवेशनको बेला भएको हार–जीतलाई बिर्सिएर सबैलाई एकजुट भएर पार्टी काममा लाग्न पनि उहाँले आग्रह गर्नुभयो ।
ज्ञवालीले पार्टी र संगठनका अधिवेशन र सम्मेलनमा पद लिन मरिहत्ते गर्ने त्यसपछि भने पार्टी काममा नै नजोडिने कुरा मान्य नहुने बताउनुभयो । जिम्मेवारी लिएर पछि जिम्मेवारीको काममा खट्न ज्ञवालीले निर्देशन दिनुभयो ।
एमालेका नेता कार्यकर्ता विचार र सिद्धान्तबाट प्रशिक्षित हुनुपर्ने बताउँदै उहाँले प्रशिक्षणका कार्यक्रम नियमित चलाउन आवश्यक रहेको बताउनुभयो । विचार र संगठन निर्माणको काममा लाग्न उहाँले आग्रह गर्नुभयो । टोल स्तरसम्म कमिटी निर्माण र विस्तारको काममा जुट्न ज्ञवालीले सुझाव दिनुभयो ।
ज्ञवालीले सामाजिक सञ्जाल एमालेका नेता कार्यकर्ताको कुण्ठा पोख्ने थलो नभएको बताउँदै ज्ञवालीले सामाजिक सञ्जालमा सकारात्मक कुरा प्रवाह गर्न आग्रह गर्नुभयो । उहाँले पार्टीका आन्तरिक समस्याहरू पार्टीका बैठक भित्रै बसेर समाधान गर्न निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्