जनता टाइम्स

९ असार २०८१, आईतवार १४:१३

गभर्नर अधिकारीको निश्कर्ष : सहकारीमा सुधार नआउँदासम्म बैंकहरुको खराब कर्जा घटदैन


काठमाडौं, असार ९ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्न नसक्ने बताउनु भएको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा गभर्नर अधिकारीले यस्तो धारणा राख्नुभएको हो । देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताउँदै उहाँले सो क्षेत्रमा सुधार नआउँदासम्म बैंकिङ क्षेत्रको खराब कर्जा र समग्र अर्थतन्त्रमा पनि सुधार हुन नसक्ने बताउनु भयो ।

‘सहकारीको विषयमा सोच्न अबेला भइसकेको छ, अर्थतन्त्रमा सहकारको भूमिका ठुलो छ, सहकारीहरू बैंकजस्तो भएर अगाडि बढ्दा समस्या देखिएको हो, हामीले सहकारीमा दोस्रो तहको नियामक आवश्यक छ भनेर २० वर्ष अगाडिदेखि भन्दै आएका थियौँ । तर, कार्यान्वयन हुन नसक्दा समस्या आएको हो,’ गभर्नर अधिकारीले भन्नुभयो, ‘यो समस्या समाधान नहुँदासम्म बैंकको खराब कर्जा पनि घट्दैन, अर्थतन्त्रमा पनि सुधार आउँदैन ।’

अधिकारीले समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि दक्ष जनशक्ति सहितको संस्था र अन्य सहकारीको व्यवस्थापनका लागि दोस्रो तहको नियामक आवश्यक रहेको धारणा पनिराख्नुभयो । बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा पनि खराब कर्जा बढेको बताउनु भयो । गभर्नर अधिकारीका अनुसार चलायमान हुन नसक्दा, आर्थिक शिथिलता, रिकभरीमा समस्या र व्यवसायीमा मनोबल घटेका कारण खराब कर्जा बढेको छ ।

अहिले राष्ट्र बैंकले क्रेडिट स्कोरमा पनि प्राथमिकता दिइरहेको जानकारी दिँदै उहाँले ऋण नतिर्दा पनि हुन्छ भन्ने गलत मानसिकताका कारण पनि बैंकको खराब कर्जा बढेको बताउँदै अब त्यसको न्यूनीकरणका लागि राष्ट्र बैंकले क्रेडिट स्कोरलाई प्राथमिकता दिइरहेको बताउनु भयो ।

उहाँले आर्थिक स्थिरताका लागि राजनीतिक स्थिरता पनि आवश्यक हुने धारणा राख्नुभयोे । ‘अन्य देशमा राजनीतिक स्थिरता भएकोले आर्थिक स्थायित्व हुन सकेको हो । नेपालमा राजनीतिक अस्थिरता हुँदा समस्या देखियो,’ गभर्नर अधिकारीले भन्नुभयो । उहाँले बैंकको नाफा बढी भएको बजारमा हल्ला भइरहेको तर ८ प्रतिशतको औसत नाफा बढी नभएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल बैंक तथा वित्तीय संस्था परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बढ्दै गएको खराब कर्जाले अर्थतन्त्रमा ठुलो समस्या सिर्जना गरिरहेको बताउनु भयो । ‘राष्ट्र बैंकले ५ प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्थाले बैंकरलाई दबाब छ, बैंकको खराब कर्जा ४ प्रतिशत भन्दा बढी हुनसक्छ,’ उपाध्यायले भन्नुभयो, ‘खराब कर्जा अझै पनि बढ्न सक्छ, यसले अर्थतन्त्रमा धेरै असर गर्छ ।’

उहाँले इक्विटीभन्दा पनि रिजर्भ बढाउनतर्फ बैंकले ध्यान दिनुपर्ने बताउनु भयो । त्यसले बैंकलाई बलियो बनाउन टेवा पुग्ने उहाँको भनाइ छ । यस्तै उहाँले बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिमा प्राथमिकता दिएर खर्च घटाउनतर्फ पनि ध्यान दिनुपर्ने बताउनु भयो ।