रामेछाप, असार १० । गाल्बामा भएको कुटपिटको घटनालाई लिएर नेपाली कांग्रेस रामेछापका नेताहरूले एक अर्काविरुद्ध ज्यान मार्ने उद्योग र चोरी डकैतीको जाहेरी दिएपछि केही नेता थुनिएका छन भने केहीबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
खाँडादेवी गाउँपालिकाको गाल्बामा गत जेठ ५ गते आयोजित आदिवासी महासंघको जिल्ला अधिवेशनमा विवाद हुँदा कुटपिट र भागाभाग भएको थियो । सो घटनामा जिल्ला सभापतिसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य कान्छाराम तामाङलाई प्रहरीले उद्धार गरेर मन्थली ल्याएको थियो ।
सो घटनामा जितबहादुर मगरलगायतका केही नेता कुटिनुभएको थियो । कुटपिटपछि एकले अर्कोलाई मुद्दा मामिलामा फसाउने प्रक्रिया चल्दै जाँदा ८ जना नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये तीनजना पक्राउ परेका छन् भने ६ जना फरार छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ पुर्जीसहित गरेको अनुरोधपछि महानगरीय प्रहरी अपराध महाशाखाले जितबहादुर मगर, वीरबहादुर लामा र चन्द्रबहादुर थापा मगरलाई पक्राउ गरी मन्थली पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीपकुमार सिंहले आवश्यक अनुसन्धानपछि पक्राउ पुर्जी जारी भएको बताउनु भयो । उहाँले केही व्यक्तिलाई थुनामा राखेर अनुसन्धान भइरहेको जानकारी दिँदै दुवै पक्षले धेरैजनाविरुद्ध जाहेरी दिएका कारण घटनाको समेत अनुसन्धान गरी पक्राउ पुर्जी माग गरिएको बताउनु भयो ।
पक्राउ परेकामध्ये वीरबहादुर लामामाथि जितबहादुर मगर र भरत चौलागाई पक्षले कुटपिटको जाहेरी दिनुभएको थियो । राकाथुमका कांग्रेस नेता लामाले पनि जितबहादुर, भरतलगायतले सुनको सिक्री र नगद लुटेको भन्दै जाहेरी दिएको प्रहरीको भनाई छ ।
पक्राउ पुर्जी जारी भएपछि कांग्रेस नेताहरूमा महाधिवेशन प्रतिनिधि भरत चौलागाई, कांग्रेस जिल्ला उपसभापति नवराज थोकर, जितेन्द्र मोक्तान, नेविसंघ केन्द्रीय सदस्य, विनोद कार्की, पूर्वजिल्ला सचिव विष्णु बस्नेत, बेनबहादुर मगरलगायत फरार हुनुभएको छ । उहाँहरूविरुद्ध चोरी, लुटपाट र ज्यान मार्ने नियतले आक्रमण गरेको आरोप छ ।
जितबहादुर पक्षले पनि १० जनाविरुद्ध जाहेरी दर्ता गरेको छ ।
प्रतिक्रिया दिनुहोस्