जनता टाइम्स

१० असार २०८१, सोमबार २१:१२

बाल यौन दुराचार अभियोगमा दोषी ठहर भए ‘तपस्वी’ बम्जन


सर्लाही, असार १० । यौन सन्तुष्टि प्राप्त तथा बाल यौन दुराचार अभियोगमा पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका ‘तपस्वी’ रामबहादुर बम्जन दोषी ठहर भएका छन । जिल्ला अदालत सर्लाहीले बम्जनलाई कसुरदार ठहर गरेको हो ।

न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलासले बम्जनलाई कसुरदार ठहर गरेको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार सजाय १७ गते तोकिने छ । उनीसँगै अभियोग लागेका अन्य दुई जनाले सफाइ पाएका छन ।

बम्जनलाई सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि महोत्तरीस्थित जलेश्वर कारागार चलानको आदेश दिएको थियो । बम्जनको पक्षमा वरिष्ठ अधिवक्ता सिताराम केसी, अधिवक्ताहरू राम घिमिरे, मनोहर झा, राष्ट्र विमोचन तिमल्सिना र दिलिप झाले बहस गरेका थिए ।

सरकारी वकिल कार्यालय मलंगवाका प्रमुख जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले बहस गर्नुभएको थियो । यसअघि तीन पटकसम्म बम्जनविरुद्धको मुद्दा पेशी चढेप नि बम्जनका वकिलहरुले २ तथा सरकारी वकिलले १ चोटी निवेदन दिएर सारेका थिए ।

सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–६ स्थित निवासबाटै गत पुस २४ गते सीआईबीको टोलीले पक्राउ गरेको थियो ।

२०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा बारा जिल्लाको निजगढ नगरपालिका–१२ निवासी ३० वर्षीय बम्जनविरुद्ध पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएको थियो । अभियुक्त बम्जनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले १२ देखि १४ वर्षसम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियो ।