पोखरा, असार ११ । गण्डकी प्रदेश सभामा नेकपा एमालेका सांसद कृष्ण पाठकले बजेटका कार्यक्रम नसच्याए बजेट पुस्तिकामा आगो लगाउने धम्की चेतावनी दिनुभएको हो ।
मंगलबार प्रदेशसभामा भएको आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्यक्रममा उहाँले बजेटको वार्षिक विकास कार्यक्रम नसच्याए आगो लगाउने चेतावनी दिनुभएको छ । सरकारले मनपरी बजेट पारेको भन्दै सांसद पाठकले कार्यक्रम नसच्याए च्यात्ने मात्रै होइन, धुजा धुजा पारेर आगो नै लगाउने चेतावनी दिनुभएको हो ।
‘बार्षिक विकास कार्यक्रम सुधारिएन भने मन्त्रालयगत छलफलमा वार्षिक विकास कार्यक्रम च्यात्नेमात्र होइन, धुजा धुजा पार्ने हो । धुजा धुजामात्र पार्ने होइन, त्यसमा आगो लगाउने हो’, पाठकको भन्नुभयो । सरकारले वितरणमुखी बजेट ल्याएको पाठकको भनाइ छ । बजेटमा स्वार्थैस्वार्थ लुकेको र मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका कर्मचारीको अनुहार छ्वाङै देखिएको पाठकले बताउनु भयो ।
यो बजेटमा समावेश विनियोजित विधेयक छलफलै गर्न योग्य नरहेको पाठकको भनाइ छ । ‘हामी कहिलेबाट सुध्रने ? आर्थिक अनुशासन पालना गर्नु नपर्ने ? सत्ता जोगाउन अनेक खेल खेल्नुपर्ने, प्रतिपक्षलाई पेल्नपर्ने ? यो खालको संस्कृतिको कहिले अन्त्य गर्ने ?’, पाठकले भन्नुभयो, ‘अघाएको सिंहजस्तो सांसद दुबैतिर छन् । भोकाएको मृगजस्तो सांसद त्यता पनि यता पनि छन् । सरकारले धेरै घमण्ड नपालोस् । सौराहाको मत्त हात्तीजस्तो भएर अगाडि नबढोस ।’
पाठकले बजेटमा सांसदबीचमै भेदभावपूर्ण व्यवहार सुधार्न सरकारलाई आग्रह गर्नुभयो । मुख्यमन्त्रीकै सचिवालयका मानिसले १० औं करोड रुपैयाँ बाँडेको पाठकले आरोप लगाउनु भयो ।
मुख्यमन्त्रीले सबै मन्त्रालय गुट्मुट्याएको भन्दै पाठकले भौतिक पूर्वाधार मन्त्रालयको योजना नीति तथा योजना आयोगबाट बाँडिएको आरोप लगाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्