प्युठान, १३ असार । प्युठानको गौमुखी गाउँपालिका–५ साली बिसौनामा नेपाली सेनाको नागरिक सैनिक सहकार्य कार्यक्रम अन्तर्गत गौमुखी गाउँपालिकाको आर्थिक सहयोग, नेपाली सेना बर्द बहादुर गणको प्राविधिक सहयोगमा निर्माण सम्पन्न हेलिप्याड आज एक कार्यक्रमबिच पालिकालाई हस्तान्तरण गरेको छ । विपद्को समयमा उद्धारका लागि पालिकाको उपयुक्त स्थान पहिचान गरी हेलिप्याड १९ नम्बर बाहिनी अड्डाका बाहिनी पति सहायक रथी भुवनपूर्ण सत्यालद्वारा पालिका अध्यक्ष विष्णुकुमार गिरीलाई हस्तान्तरण गर्नुभएको हो ।
पालिका अध्यक्ष विष्णुकुमार गिरीले हेलिप्याड तत्कालै प्रयोगमा नआएपनि विपत्तिको बेलामा राहत र उद्धारका सहज हुने बताउनुभयो । बाढी, पहिरोको हिसाबले उच्च जोखिममा रहेका गौमुखी गाउँपालिका भित्रका विभिन्न बस्ती तथा बर्खायाममा विपतको रेड जोनमा रहेको मुख्य सडक खण्ड मच्छि ठुलाबेशि अवरुद्ध हुँदा वैकल्पिक सडक र हवाईमार्ग नहुँदा विपत्तिका बेला हेलिप्याडले सहयोग पुग्ने अध्यक्ष गिरीले बताउनुभयो ।
कार्यक्रममा गिरीले हेलिप्याड निर्माणमा प्राविधिक सहयोग गरेकोमा गणका गणपति प्रमुख सेनानी रमेश थापालगायत निःशुल्क जग्गा उपलब्ध गराउने स्थानीय जग्गादाताहरूलाई धन्यवाद दिँदै प्रशंसापत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, डिभिजन वन कार्यालयका प्रमुख शङ्कर गुप्ता, जिल्ला प्रहरी कार्यालय, सशस्त्र बल, जिल्ला अनुसन्धान, स्थानीय जनप्रतिनिधि, पालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं स्थानीय र सञ्चारकर्मीहरूको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्