काठमाडौं, १४ असार । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा भाँडभैलो सुरु भएको छ । नेविसंघको केन्द्रीय अधिवेशन गर्नु पर्ने समय घर्किएकाले अवैधानिक समितिमा बस्नु औचित्यहीन भएको भन्दै केन्द्रीय सदस्यले राजीनामा दिन थालेका छन् ।
आफूलाई लोकतान्त्रको मसिहा ठान्ने पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर मात्र होइन निरंकुश रहेको आरोप लगाउदैं विद्रोह सुरु भएको छ । पछिल्लो पटक नेविसंघका केन्द्रीय सदस्य विवेक बानियाँले यस्तै आरोप लगाउदै राजीनामा दिएका छन् । उनले राजीनामा पत्रमा भनेका छन् ‘लोकतान्त्रिक संगठनमा रहेर नेतृत्वको अलोकतान्त्रिक तथा स्वेच्छाचारी कार्यको भारी बोक्न मेरो नैतिकताले दिदैन, त्यसैले राजीनामा दिएको हुँ ।’
उनको राजीनामा पत्रमा नेविसंघको वर्तमान कार्यसमितिको म्याद १५ असार २०८१ सम्म मात्र रहेको उल्लेख छ । पार्टी नेताको टिके प्रथाबाट चल्दै आएको नेविसंघ पछिल्लो पटक नेपाली कांग्रेसको कार्यसमितिले निर्णय गरेर २२ साउन २०८० मा गठन गरिएको थियो । कांग्रेस कार्यसमितिको २०८० पुस १२– १४ को वैठकले नेविसंघलाई १२ औं अधिवेशन गर्न १५ असार २०८१ सम्मको समयावधि दिइएको थियो ।
तर लोकतान्त्रिक ढंगले अधिवेशन गरेर नयाँ नेतृत्व छान्ने आम नेविसंघप्रति आस्थावान विद्यार्थीको भावनामाथि खेलवाड गर्दै नेतृत्वले समयावधि लम्बाउने मात्र होइन, जिल्ला–जिल्लामा स्वेच्छाचारी ढंगले अलोकतान्त्रिक तथा टिके प्रथालाई नै मलजल गरेको बानियाँले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्