जनता टाइम्स

१४ असार २०८१, शुक्रबार २०:१३

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक पक्राउ


काठमाडौं, असार १४ । पूर्वगृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका प्रतीकलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको हो ।

बुवा बादल गृहमन्त्री भएको बेला प्रतीक केही समय स्वकीय सचिव समेत बनेका थिए । तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो । मन्त्रालयमा रहेर प्रतीकले असुलीको काम गरेपछि हटाइएको सूचना त्यसैबेला सार्वजनिक भएको थियो ।

उनले नक्कली भुटानी शरणार्थी बनाउने धन्दा चलाएर असुली अभियान चलाएको पाइएको थियो । भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनमै नक्कली नामहरु घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो । त्यसक्रममा थापाले विचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

यसमा बादलका उनका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री एवं हालका एमाले सचिव टोपबहादुर रायमाझी, उहाँका छोरा सन्दीप रायमाझी पनि जोडिनुभएको थियो । तर, बादल गृहमन्त्री भएका बेला कार्यदलको प्रतिवेदनमा विचौलियाको सूचीअनुसारको नामहरु थप्न नसकेपछि बालकृष्ण खाँण गृहमन्त्री भएका बेला प्रतिवेदन नै कीर्ते गरेर नेपाली युवालाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो ।

यसका लागि मोरङ केशव दुलाल र सानु भण्डारीले सेटिङ मिलाएका थिए । प्रतीकले पक्राउ पूर्जी जारी भएपछि प्रतीकले विज्ञप्ति जारी गर्दै ‘संवेदनशील विषय भएकाले छानबिनमा सहयोग गर्ने’ बताएका थिए । तर, अहिलेसम्म उनी फरार थिए । त्यसबेला उनले मन्त्रालयमा हुँदा कोही कसैसँग सम्झौता जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरेका थिए । सोही बिषयमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका प्रतीकलाई प्रहरीले पक्राउ गरेको हो ।