काठमाडौं, असार १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई नै स्पष्टीकरण सोधेको छ ।
महामन्त्री ढकाललाई पार्टीको अनुशासन भंग गरेको भन्दै के कारणले यस्तो गरेको भनी आयोगले आज स्पष्टीकरण पत्र थमाएको हो । देश दौडाहा गरी तयार पारेको प्रतिवेदन सभापति रबि लामिछानेलाई बुझाउनु उचित भए पनि त्यसभित्रका बुँदाहरु मिडियामा सार्वजनिक गरेर महामन्त्री ढकालले पार्टीको सामान्य मर्यादासमेत उल्लंघन गरेको पत्रमा उल्लेख छ ।
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले महामन्त्री ढकाललाई अनुशासन आयोगले आज पत्र थमाएको पुष्टि गर्नुभएको छ । ढकालले भने आफूलाई सभापति लामिछानेबाहेक अरुले स्पष्टीकरण सोध्न नपाउने बताउनु भएको छ । निकटस्थसँग ढकालले आफूलाई जोकोहीले पठाएको पत्रको जवाफ नदिने बताउनु भएको हो ।
पार्टीको अवस्था बुझ्न भन्दै ३८ जिल्ला घुमेर महामन्त्री ढकालले ३२ पृष्ठको प्रतिवेदन तयार पार्नुभएको थियो । सो प्रतिवेदनले रास्वपामा हंगामा मच्चिएको छ ।
प्रतिक्रिया दिनुहोस्